sevenstartv.com १६ असार २०८३, मङ्गलवार

तनहुँमा बढे ज्वरो तथा डेंगुका बिरामी

२८ असोज २०८१, सोमवार स्टार संवाददाता

तनहुँ । तनहुँको व्यास नगरपालिका क्षेत्रमा भाइरल ज्वरो तथा डेंगुका बिरामी बढेका छन् । अस्पतालको भुइँमा राखेर बिरामीको उपचार भइरहेको छ ।

बिरामीको चाप बढ्दा जिल्ला अस्पतालमा शय्याको अभाव भएको छ । १५ शय्या क्षमताको यस अस्पतालमा दैनिक करिब चार सयको हाराहारीमा ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् ।

पर्याप्त शय्या अभावमा उपचारमा कठिनाई भएको दमौली अस्पताल व्यवस्थापन समितिको भनाई छ । अस्पतालको स्तरोउन्नतिका लागि गण्डकी प्रदेश सरकारसँग पटक पटक माग गरिए पनि सुनुवाई नहुँदा समस्या भोग्नुपरेको समितिका अध्यक्ष शान्तिरमण वाग्लेले बताउनुभयो ।

शय्याको अभावले डायलायसिस सेवालाई व्यास नगर अस्पतालमा स्थानान्तरण गर्ने तयारी गरिएको छ । यसका लागि गण्डकी प्रदेश सरकारसँग अनुमति मागिएको छ ।

व्यास–१,२, ३, ४ र ५ मा डेंगुका बिरामीको संख्या दिनप्रतिदिन बढिरहेको छ । अस्पताल आएका बिरामीमध्ये साउनमा ४३, भदौमा दुई सय ८१ र असोजमा हालसम्म दुई सय ९७ जनामा डेंगुको संक्रमण भएको दमौली अस्पतालका सिनियर अहेव दिनेश पण्डितले जानकारी दिए ।