५ लाख बढीले छाडे काठमाडौं
काठमाडौं। दशैंका लागि काठमाडौं छाड्नेहरुको संख्या ५ लाख नाघेको छ । घटनास्थापनदेखि बुधबार बिहान ६ बजेसम्म ५ लाखभन्दा बढी मान्छेले काठमाडौं छाडेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथका डीएसपी रवीन कार्कीले बताए ।
यो सडक मात्रैबाट काठमाडौं छाड्ने यात्रुहरुको विवरण हो । दशैंको अवसरमा घर फर्कने यात्रुहरुलाई लक्षित गरेर ट्राफिक प्रहरीले यात्रु सहायता कक्ष सञ्चालन समेत गरेको छ ।
टिकटमा हुने कालोबजारीदेखि नाका नाकामा ट्राफिक खटाएर भाडादर समेत अनुगमन गरिएको छ । बढी भाडा असुल्ने गाडीहरुलाई कारबाही समेत तिव्र पारिएको उनले बताए ।
मंगलबारसम्म मात्रै बढी भाडा लिएको आरोपमा ३१ जनालाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएको उनले बताए ।








