sevenstartv.com १६ असार २०८३, मङ्गलवार

कान्ति लोकपथ सञ्चालनमा, काठमाडौं आउजाउमा सहज

नौबिसे-मुग्लिन सडक खण्डको यात्रा भने असहज

२३ असोज २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । काठमाण्डौलाई बाहिरी जिल्लासँग जोड्ने विभिन्न नाकामध्ये कान्ति लोकपथ खुलेको छ ।

लोकपथअन्तर्गत बाग्मती पुलको एउटा स्पान बाढीले बगाएपछि सडक अवरुद्ध भएको थियो । पाइपमार्फत पानी डाइभर्ट गरेर पुल बगाएको खण्डमा माटो भरेर सडक सञ्चालनमा ल्याइएको हो ।

यस्तै त्रिभुवन राजपथ-नौबिसे सडकखण्ड, कुलेखानी-फाखेल-मातातीर्थ, कुलेखानी-फाखेल-फर्पिङ, कुलेखानी-सिस्नेरी-दक्षिणकाली खण्डहरु पनि अस्थायी रूपमा सञ्चालनमा आइसकेका छन् । अब काठमाण्डौ आउजाउका लागि यात्रुलाई केही सहज भएको छ ।

तर पूर्वलाई काठमाण्डौसँग जोड्ने बीपी राजमार्ग भने तत्काल खुलाउन समस्या छ । बीपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्ध नगरपालिका-६ र रोशी गाउँपालिका-७ सीमास्थल चौकीडाँडामा रोशी खोलाको बाढीले दुई सय मिटर सडक बगाएपछि अवरुद्ध सडक अस्थायी रुपमा एकतर्फी सञ्चालन हुनेगरी निर्माण गरिएको छ ।

त्रिभुवन राजपथको नागढु्ङ्गा–नौबिसे सडक खण्ड र पृथ्वी राजमार्गको नौबिसे-मुग्लिन सडक खण्डमा पनि यात्रा सहज रहेको छैन । पहिरो झर्नसक्ने र ढुङ्गा खस्न सक्ने जोखिम भएकाले यात्रामा सावधानी अपनाउन ट्राफिक प्रहरीको आग्रह छ ।

यस्तै पहिरोका कारण अवरुद्ध मेची राजमार्ग पाँच दिनपछि सञ्चालनमा आएको छ ।