बाढीपहिरो पीडित लाभग्राहीको विवरण तत्काल पठाउन गृहमन्त्री लेखकको निर्देशन
काठमाडौं । गृहमन्त्री रमेश लेखकले तत्काल लाभग्राहीहरूको विवरण पठाउन जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएका छन् ।
आज ललितपुरको गोदावरीमा बाढी र पहिरो प्रभावित क्षेत्रको निरीक्षणपश्चात् जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिलाई लाभग्राहीहरूको विवरण पठाउन निर्देशन दिँदै उनले क्षतिको मूल्याङ्कन गरेर तीन दिनभित्र राहत उपलब्ध गराउने सरकारको योजना रहेको बताए ।
बाढीपहिरो प्रकोपले देशका विभिन्न क्षेत्रमा जनधनको ठूलो क्षति भएको उल्लेख गर्दै उनले क्षतिको यकिन विवरण सङ्कलनका लागि काम भइरहेको बताए । गृहमन्त्री लेखकले पीडित घाइतेको निःशुल्क उपचार भइरहेको जनाउँदै सोको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने बताएका छन् । गृहमन्त्री लेखकले आज बिहान सुरक्षा समितिसँगको बैठकमा राहत उद्धार तथा भौतिक क्षतिका बारेमा जानकारी लिएका थिए ।
निरीक्षणका क्रममा बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुँयाल, गोदावरी नगरप्रमुख गजेन्द्र महर्जन, स्थानीय वडाध्यक्षलगायत प्रहरी प्रमुखसहितका अधिकारीहरू सहभागी थिए ।








