मध्यपहाडी राजमार्गको खुर्कोट-घुर्मी सडक खण्ड एकतर्फी खुल्यो
काठमाडौं । मध्यपहाडी राजमार्गअन्तर्गत खुर्कोट-घुर्मी सडक खण्ड आजदेखि एकतर्फी रुपमा खुलेको छ । केही दिनअघि आएको वर्षासँगैको बाढीपहिरोले राजमार्गको सयौँ स्थान अवरुद्ध भएपछि पाँच दिनदेखि आवागमन ठप्प भएको थियो ।
राजमार्गमा दुवैतर्फबाट दुई–दुई वटा डोजर र स्काभेटर प्रयोग गरी पाँच दिनसम्मको निरन्तर प्रयासमा आज दिउँसोदेखि सडक सञ्चालनमा ल्याइएको बताइएको छ । मध्यपहाडी सडक आयोजना तथा स्थानीय गोलञ्जोर र फिक्कल गाँउपालिकाको सहयोग र समन्वयमा घुर्मीबाट दुई र खुर्कोटबाट दुईवटा स्काभेटर प्रयोग गरी एकतर्फी रुपमा सडक सञ्चालन ल्याइएको हो ।
दुवैतर्फबाट झरेको पहिरो पन्छाउँदै अघि बढेका डोजर र स्काभेटरले स्थानीय कालिआँपको पहिरो पन्छाएसँगै राजमार्ग सञ्चालनमा आएको छ । खुर्कोट–घुर्मी खण्ड ६१ किलोमिटर लामो दूरीको छ । राजमार्ग सञ्चालनमा आए पनि यस क्षेत्रमा वर्षाले जमिन कमलो बनाएकाले सुख्खा पहिरोको जोखिम कायम रहने भन्दै रात्रिकालीन यात्रा गर्नु जोखिमपूर्ण हुनसक्ने भन्दै सर्तकता अपनाउन अनुरोध गरिएको छ । सो खण्डमा यात्रामा रहनेले उच्च सर्तकता अपनाउनुपर्ने छ ।
सयौँको सङ्ख्यामा यस खण्डमा स-साना पहिरो झरेका छन् । हाललाई सामान्य रुपमा पहिरो पन्छाएर एकतर्फी रुपमा सडक सञ्चालनमा ल्याइएको छ । यस खण्डअन्तर्गत सबै स्थानमा अहिले ठूला सवारिसाधन सहज रुपमा सञ्चालन गर्न चुनौतीपूर्ण बनेको छ । उक्त राजमार्ग अवरुद्ध भएसँगै ओखलढुङ्गा, उदयपुर, सिन्धुली, सोलुखुम्बु र खोटाङलगायत क्षेत्रमा बन्द भएको सडक पुनः सञ्चालनमा आएको छ ।
मध्यपहाडी राजमार्गको उक्त खण्ड भई सामान्य अवस्थामा दैनिक सयौँ तथा दसैँतिहारजस्ता चाडबाडमा हजारौँको सङ्ख्यामा साना तथा ठूला सवारिसाधन गुड्दै आएका छन् । राजमार्ग खुलाउने कार्यमा स्थानीय तह, राजनीतिक दल, नागरिक समाज, सुरक्षा निकाय, सडक कार्यालय र स्थानीय प्रशासनबाट आवश्यक सहयोग र समन्वय भएको छ ।








