sevenstartv.com १६ असार २०८३, मङ्गलवार

पार्टी बैठक नबसी बाढीपहिरो प्रभावित सहयोगार्थ तलब दिने घोषणाप्रति समाजवादी सांसदहरु असन्तुष्ट

१६ असोज २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसदहरूले आफूहरूसँग छलफल नै नगरी बाढीपहिरो प्रभावितको सहयोगार्थ १५ दिनको तलब दिने घोषणा गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

समाजवादीका सांसदहरूले दलको बैठकै नबसी १५ दिनको तलब दिने सचेतक मेटमणि चौधरीले घोषणा गरेको भन्दै असन्तुष्टि जनाएका हुन् । उपमहासचिव समेत रहेका सचेतक चौधरीले बुधवार वर्षाका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पार्टी र दलको निर्णय अनुसार सांसदहरूका तर्फबाट १५ दिनको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणासहितको पत्र संसद् सचिवालयमा बुझाउनु भएको थियो ।

तर सो पार्टीका सांसदहरूले भने सचेतकको उक्त घोषणा आफूखुसी भएको भन्दै असन्तुष्टि जनाएका हुन् । उनीहरुले पार्टी अध्यक्ष समेत काठमाडौँ उपत्यका बाहिर भएका बेला कसरी यस्तो निर्णय भयो भनेर आश्चर्यमा परेको बताएका छन् । पार्टी र दलको बैठक बसेर छलफल भएको भए बाढी प्रभावितका लागि एक महिनाकै तलब दिन सक्ने उनीहरुको भनाई छ ।

तर दलको बैठक नबसी निर्णयको हवाला दिएर चौधरीले पत्र लेख्नु किर्ते भएको सांसदहरुले बताएका छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्