अवरुद्ध हेटौँडा-काठमाडौं र हेटौँडा-धरान सडक खुल्यो
काठमाडौं । वर्षासँगै पहिरो खसेर अवरुद्ध भएका सडकमध्ये मकवानपुरको हेटौँडा-काठमाडौं रहेटौँडा धरान चतरा जोड्ने तीनवटा सडक सञ्चालन भएको छ ।सडकबाट पहिरो पन्छाएर त्रिभुवन लोकपथ सडकअन्तर्गत हेटौँडा-भैसे, सिमभन्याङ-पालुङ-नौबिसे र मदन भण्डारी लोकमार्गअन्तर्गत हेटौँडा-सिन्धुली-धरान चतरा सडक आज बिहानबाट खुलेका हुन् ।
त्रिभुवन लोकपथ सडकअन्तर्गत हेटौँडा-भैसे-चित्लाङ-चन्द्रागिरि-काठमाडौं जाने सडक आइतबार साँझबाट एकतर्फी रूपमा सञ्चालनमा आएको थियो ।
वर्षासँगै खसेको पहिरो पन्छाएपछि ती सडक सञ्चालन भएको छ । सो सडकअन्तर्गत मकवानपुरको थाहा नगरपालिका-५ दामनमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो । कान्तिलोकपथ सडकको बकैया गाउँपालिका-१२ घट्टेपाखा र ११ नम्बर वडाको लाम्राङ, आँपचौरमा पहिरोका कारण र भिमफेदी गाउँपालिका-८ स्थित बागमती खोलाको पुल कटान गरी सडक अझै पूर्ण रूपमा अवरुद्ध छ ।
दक्षिणकाली-छैमले-सिस्नेरी सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका-३ रामचन्द्र भञ्ज्याङमा पहिरो खसेर कुलेखानी-फाखेल-फर्पिङ बाटो पूर्ण रूपमा अवरुद्ध रहेको जनाइएको छ । दक्षिणकाली-छैमले-सिस्नेरी सडकखण्डकै इन्द्रसरोवर गाउँपालिका-२ सिमखोलास्थित लच्कामा सिमखोलमा आएको बाढीले कटान गरी कुलेखानी-सिस्नेरी–फर्पिङ बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
कुलेखानी-मार्खु भित्री सडकखण्डको इन्द्रसरोवर गाउँपालिका-१ सिम्लाङमा पहिरोका कारण थानकोट-कुलेखानी बाटो पूर्ण रूपमा अवरुद्ध छ । भीमफेदी गाउँपालिका-४ रातोमाटे, भीमफेदी-६ ढोकाफेदीमा पहिरो खसेर हेटौँडा-कुलेखानी जोड्ने बाटो पूर्ण रूपमा अवरुद्ध रहेको छ । अवरुद्ध भएको अन्य सडकमा पनि पहिरो पन्छाउने कार्य भइरहेको छ ।








