आजका प्रमुख सात समाचार
काठमाडौं ।
मानवीय क्षति
अविरल वर्षाका कारण असोज ११ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरोलगायतका विपद्मा परेर अहिलेसम्म १४८ जनाको मृत्यु भएको छ ।
विपद्मा परेर बागमती प्रदेशमा ८६, काठमाडौं उपत्यकामा मात्रै ४३, कोशी प्रदेशमा १६ र मधेश प्रदेशमा ३ गरेर १४८ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको हो । प्रहरीका अनुसार विपद्मा परेर बागमती प्रदेशमा ६८, काठमाडौं उपत्यकामा १८, मधेश प्रदेशमा ९, कोशीमा ६ गरेर १०१ जना घाइते भएका छन् । काठमाडौं उपत्यकामा २ हजार १५५, गण्डकी प्रदेशमा ९९७, बागमतीमा ३८४, कोशीमा ९० र मधेशमा ३५ गरेर ३ हजार ६६१ जनाको उद्धार गरिएको छ ।
बाढीपहिरोमा परी ५५ जना बेपत्ता रहेको र बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक ९डीआईजी० दानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार बाढीपहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घरपरिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने कामसमेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य भइरहेको छ ।
धादिङको धुनीबेशी नगरपालिका–९ झ्याप्ले खोलामा पहिरोले पुरिएको हालसम्म ३५ जनाको शव फेला परेको छ । बुटवलबाट काठमाडौंतर्फ आउँदै गरेको लु १ ज ४५७८ नम्बरको विंगर जिप र चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख १३४५ नम्बरको हायस पहिरोमा पुरिएको थियो भने गोरखाबाट काठमाडौंतर्फ आउँदै गरेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस पहिरोमा परेको थियो । यसैगरी बा १ प १३८८ नम्बरको बससमेत क्षति पुगेको थियो । पहिरोमा पुरिएको विंगर जिपमा सवार ८ जना पुरुष, ५ जना महिला र एक जना बच्चा गरी १४ जना, हायसमा सवार १२ जना पुरुष र ४ जना महिला तथा बसमा सवार ५ जना पुरुष यात्रुहरु पहिरोमा पुरिएका थिए ।
सर्वदलीय बैठक
सरकारले बाढी पहिरोमा प्रभावित भएका र घाइते भएकाहरुलाई तत्काल उद्धार गरी उचित वासस्थान, खाना, पानी र अन्य राहत सामाग्री उपलब्ध गराउने निर्णय गरेको छ । सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले वर्षाका कारण गएको पहिरो र बाढिले आवागमन अवरुद्ध भई गन्तव्यमा पुग्न नसकी अलपत्र परेका यात्रुहरुलाई सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समिति, जिल्लाको यातायात व्यवसायी संघ र सुरक्षाकर्मीको संयुक्त प्रयासमा गन्तव्यमा पुर्याउने निर्णय गरेको बताए ।
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको नेतृत्वमा बसेको सर्वदलीय बैठकले तत्काल पहिरो पन्छाई बाटो खुलाई आवागमन सूचारु गर्ने, क्षतिग्रस्त प्रसारण लाईन र विद्युत गृहहरुको मर्मतसम्भार गर्ने अवरुद्ध इन्टरनेट र टेलिफोन सेवा यथासक्य छिटो सुचारु गर्ने निर्णय पनि गरेको छ । विपद्को चपेटामा परेका सर्वसाधारण र आउँदै गरेको दशैँ, तिहार, छठ जस्ता पर्वहरुलाई समेत लक्षित गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निजी क्षेत्रको समेत सहभागितामा खाद्यान्न, तरकारी, फलफूल, ग्याँस लगायत अत्यावश्यक दैनिक उपभोग्यका सामानहरु सूपथ मूल्यमा सजिलै सँग प्राप्त गर्नसक्ने व्यवस्था मिलाउने निर्णय गरेको छ । बाढीका कारण क्षतिग्रस्त पुल, सडक, विद्यालय, स्वास्थ्यचौकी, सुरक्षा निकायको भवन, विद्युत संरचना लगायत पूर्वाधार र कृषि तथा पशुपंक्षी क्षेत्रमा भएको क्षतिको विवरण सम्बन्धित मन्त्रालयले संकलन गरि पुनर्निर्माणको लागि आवश्यक प्रकृया अघि बढाउने निर्णय भएको बताए ।
राज्य व्यवस्था समिति
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले हवाइ भाडा घटाउन निर्देशन दिएको छ । अत्याधिक वर्षाका कारण सिर्जित संकटका बेला विमानसेवा कम्पनीहरुले आफूखुशी भाडा लिएको भन्दै समितिले भाडा घटाउन सरकारलाई निर्देशन दिएको हो । बाढी र पहिरोका कारण सडकहरु भत्किएको अवसर पारेर बढाइएको हवाइ भाडा नियन्त्रणमा लिन समितिले निर्देशन दिएको छ । कोरम संख्या नपुगेर बैठक नबसेपनि समितिले भाडा दरमा नियन्त्रण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयमा आवश्यक निर्देशन दिन भनेको हो । प्राकृतिक विपत्तिलाई ध्यानमा राख्दै आन्तरिक उडानमा रहेका एयरलाइन्सहरुले ३ दिन भाडा नबढाउने सहमति गरेका छन् ।
अघिपछि जस्तै नियमित भाडामै उडान गर्ने गरी सहमति भएको वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले बताउनुभयो । अब सोमबार, मंगलबार र बुधबार सबै एयरलाइन्सहरुले नागरिक उड्डयन प्राधिकरणले तोकेको भाडाको तल्लो विन्दुमै रहेर टिकट बेच्नेछन् । दशैं नजिकिएसँगै हवाईसेवा कम्पनीहरुले क्यानले तोकेको माथिल्लो विन्दुको भाडा लिएर टिकट बिक्री गरेका थिए । दशैंको मुखमै भाडा बढाएको भन्दै चौतर्फी विरोध भएपछि नियामक क्यानले छलफलमा बोलाएको थियो । बाढीपहिरोको कारण सडक यातायात पूर्ण रुपमा अवरुद्ध भइरहेको बेला एयरलाइन्सले महँगो शुल्क लिन नहुने माग सर्वासधारणको छ ।
रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार, गठबन्धन र गठबन्धनमा आवद्ध राजनीतिक दल र कार्यकर्ताहरु रवि, रास्वपा र सहकारीमा मात्रै केन्द्रित भएको निस्कर्ष निकालेको छ । आइतबार बसेको केन्द्रिय समितिको बैठकले रवि, रास्वपा र सहकारीमा सरकार र गठबन्धनका दलहरु अड्किँदा विपद्जन्य घटनाहरुमा तयारी नगरेको आरोप रास्वपाको छ ।
बैठकका निर्णय सुनाउँदै पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले प्राकृतिक विपत्ति आउँदा समेत राज्य तयार नहुनु दुःखद् रहेको बताएका छन् । उनले सरकारी संयन्त्रले गर्नुपर्ने दायित्वमै सरकार चुकेको बताउनुभयो । उहाँले सरकारले संवेदनशीलता नदेखाएको र असक्षमता र अकर्मण्यता देखाएको आरोप लगाए ।
ऊर्जामा क्षति
मुलुकभर दुई दिनको निरन्तरको वर्षाका कारण आएको बाढी तथा पहिरोले ऊर्जा क्षेत्रमा करिव साढे ४ अर्ब ३५ करोड बराबरको क्षति भएको छ । ऊर्जा, जलस्रोत तथा सिचाईं मन्त्रालयले ऊर्जातर्फ २ अर्ब ४५ करोड,सिंचाईतर्फ १ अर्ब ३५ करोड र नदी नियन्त्रणतर्फ करिव १ अर्ब १६ करोड २० लाख रुपैयाँ गरी समग्रमा करिव ४ अर्ब ३५ करोड रुपैयाँ बराबरको क्षति भएको जनाएको छ ।
मन्त्रालयले यो क्षति अनुमान मात्रै रहेको भन्दै अझै बढ्नसक्ने बताएको छ । पत्रकार सम्मेलनमा मन्त्री दीपक खड्काले बाढी र पहिरोका कारण १ हजार १ सय मेगावाटका जलविद्युत आयोजनाको उत्पादन बन्द भएको पनि बताए । उनले जलविद्युत र प्रशारणलाइनतर्फ २ अर्ब ४५ करोड बराबरको क्षति भएको बताउनु भयो । उहाँले सिंचाईतर्फ १ अर्ब ३५ करोड बराबरको क्षति भएको उल्लेख गर्नुभयो । मन्त्री खड्काले बाढी र पहिरोले निजी क्षेत्रका २६ वटा भन्दा बढी जलविद्युत आयोजनामा क्षति पुगेको पनि बताएका छन् ।
शेयर बजार
यो सातामा कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । कारोबार रकम पनि घटेको छ । आज परिसूचक २२ दशमलव ३६ अङ्कले घटेर दुई हजार चार सय ६४ दशमलव ४० को विन्दुमा कायम भएको छ ।
आज तीन सय २७ कम्पनीको एक करोड तीन लाख ११ हजार आठ सय ८५ कित्ता शेयर ५८ हजार चार सय एक पटक खरिदबिक्री हुँदा कारोबार रकम रु चार अर्ब पाँच करोड छ लाख ५८ हजारमा खुम्चिएको छ । नेप्सेमा आज भएको कारोबार रकम पछिल्लो तीन महिनायताकै न्यून हो । आजको कारोबारमा ४६ कम्पनीको शेयर मूल्य बढ्दा एक सय ९३ कम्पनीको शेयर मूल्य घटेको नेप्सेले जनाएको छ ।
इरानी सेनाको कमान्डर
इजरायलले गरेको आक्रमणमा इरानसेनाको कमान्डरको निधन भएको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स ९आईआरजीसी०ले एक विज्ञप्ति जारी गर्दै आईआरजीसी अपरेशनका डेपुटी कमान्डर ब्रिगेडियर जनरल अब्बास निलफोरसन मारिएको पुष्टि गरेको हो । अब्बास निलफोरुशनको मृत्यु पश्चात आईआरजीसीले लेबनानमा इजरायली गतिविधिको आलोचना गरेको छ ।
विज्ञप्तिमा आईआरजीसीले अब्बास निलफोरौशनलाई लेबनानमा सैन्य सल्लाहकार भएको बताएको छ । साथै प्रतिरोधी मोर्चा र इरानको रक्षामा निलफोरुशनको भूमिकाको पनि प्रशंसा गरेको छ । अली जाहेदी पछि, निलफोरुशनलाई सन् २०१९ मा आईआरजीसीका डिप्टी अपरेसनको रूपमा नियुक्त गरिएको थियो । यसअघि उनी आईआरजीसीको कमान्ड एन्ड स्टाफ युनिभर्सिटीका प्रमुख थिए ।






