sevenstartv.com १६ असार २०८३, मङ्गलवार

चिनियाँ नागरिकले सञ्चालन गरेको अवैध जुवा घरमा छापा, ७ जना पक्राउ

७ असोज २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । चिनियाँ नागरिकले सञ्चालन गरेको अवैध जुवा घरमा छापा मारेर प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

 चीनको तिब्बतस्थित आम्दो घर भएका २४ वर्षीय सोनाम तामाङ, तिब्बतस्थित ल्हासा घर भएका ३० वर्षीय नोर्बु साम्देन, तिब्बतस्थित सिगाचे घर भएका २७ वर्षीय दासाङ, चीनको सिचुवान प्रान्त सिनुहा टाउन घर भएका ४५ वर्षीय विई चुनलिन, भारतीय नागरिक जाम्पा खेदुप, नेपालीहरु काठमाडौं-६ सिमलटार बस्ने २८ वर्षीय तेन्जिङ नोर्बु शेर्पा र सिन्धुपाल्चोकको पाँचपोखरी थङपाल गाउँपालिका-४ घर भएका ३५ वर्षीय लोप्साङ लामा पक्राउ परेका हुन् ।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बौद्धबाट पक्राउ गरेको हो । यो समूहले बौद्ध तीनचुलीस्थित पुष्पा लामाको घर भाडामा लिएर दोस्रो तलामा ‘गेम जोन’ भन्दै ‘फिस सुट गेम’को नाममा हारजित हुने गरी जुवा खेलाएको जनाइएको छ । 

पक्राउ परेकाहरुबाट जुवा खेलाउन प्रयोग गरिएको उपकरण १ थान, १२ लाख १ हजार नगद, ३ हजार १ सय चाइनिज युयान, २ हजार अमेरिकन डलर र ७ थान मोबाइल बरामद भएको छ । पक्राउ परेकाहरुलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।