पठाओ चालकको मोबाइल चोरेको आरोपमा दुई जना पक्राउ
काठमाडौं । पठाओ चालकको मोबाइल चोरेको आरोपमा दुई जना पक्राउ परेका छन् । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका वडा नम्बर–४ घर भएका २२ वर्षीय प्रकाश महत र ३३ वर्षीय युवराज महत पक्राउ परेका हुन् ।
काठमाडौं र भक्तपुरबाट काभ्रेपलान्चोक जान पठाओ बुक गरेर बनेपा पुगेपछि आरोपीहरूले पठाओ चालकलाई खाजा खान लैजान्छन् । खाजाको बिल र पठाओ भाडा ‘क्युआर मार्फत पठाइदिन्छौँ’ भनेर इन्टरनेट नचलेको बहानामा खाजा घर बाहिर निस्केर उनिहरुले मोबाइल लिएर भाग्ने गरेको पीडितहरूले प्रहरीलाई बताएका छन् ।
क्युआर मार्फत भुक्तानी गर्ने आश्वासन दिएपछि उनीहरूले पठाओ चालकको मोबाइल माग्ने र लिएर भाग्ने गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । आरोपीहरूलाई चोरीको मोबाइल सहित पक्राउ गरेर ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।








