sevenstartv.com १६ असार २०८३, मङ्गलवार

आज राष्ट्रिय बाल दिवस : बालबालिकाको क्षेत्रमा लगानी बढाउनुपर्नेमा अधिकारकर्मीहरुको जोड

२९ भदौ २०८१, शनिवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय बाल दिवस शनिबार विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। 

‘बालबालिकामा लगानी स् सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ आज ६० औँ राष्ट्रिय बाल दिवस मनाउन लागिएको हो । अघिल्लो वर्ष पनि बालबालिकाको क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिँदै यही नाराका साथ दिवस मनाइएको थियो ।

तर बालबालिकाको क्षेत्रमा सोचेअनुसार लगानी हुन नसकेको बालअधिकारकर्मीहरुले बताएका छन् । तीनै तहका सरकारले बालबालिकाको क्षेत्रमा लगानी बढाउनुपर्नेमा अधिकारकर्मीहरुको जोड छ ।

नेपालले संयुक्त राष्ट्र संघको बालअधिकार महासन्धिलाई २०४७ भदौ २९ गते अनुमोदन गरेको थियो। सोहीअनुरुप नेपालले राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ गते मनाउन थालेको हो। २०२१ सालदेखि तत्कालीन रानी रत्नको जन्मदिन भदौ ४ गतेदेखि मनाउन शुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ गते मनाउन थालिएको हो।

सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसंघ महासभाबाट बालअधिकार सम्बन्धी महासन्धि पारित भयो। पछि यसलाई नेपालले सन् १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरेको दिनको सन्दर्भ पारेर बाल दिवस मनाउन थालियो।

संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरी बाल बचाउ, बाल संरक्षण, बालविकास र बाल सहभागिता जस्ता विषय समेटी सर्वांगीण विकासको प्रत्याभूत गरेको छ।

संयुक्त राष्ट्रसंघीय बालअधिकारसम्बन्धी महासन्धि, १९८९ तथा अन्य बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिमा गरेको प्रतिबद्धता अनुरूप सरकारले बाल अधिकारसम्बन्धी नीति तथा कानुन तर्जुमा गरी कार्यान्वयन गर्दै आएको छ।

नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा आत्मसात् गर्दै हरेक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन-पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुने लगायतका कुराको प्रत्याभूति गरेको छ । तर धेरै बालबालिका यस्ता हक र अधिकारबाट बञ्चित छन् ।

यसैबीच यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालभित्रै सडक बालबालिकालाई सडकमुक्त गर्ने प्रतिबद्धता जनाए । बाल दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले सडकमा बस्नुपर्ने परिस्थितिबाट बालबालिकालाई यही वर्षभित्र मुक्त गरिने बताए । 

प्रधानमन्त्री ओलीले बालबालिकाका लागि प्रतिकूल अवस्था हटाएर अनुकूल अवस्था सिर्जना गर्न बालमैत्री वातावरण बनाउन सरकार लागिपरेको पनि बताए। उनले ठूलो सङ्ख्यामा बालबालिकाहरु कुपोषणको सिकार भइरहेको र विद्यालय जानबाट वञ्चित रहेको भन्दै यस अवस्थाबाट बालबालिकालाई बाहिर निकाल्नुपर्नेमा जोड दिए ।

गरिबीको रेखामुनि रहेका मानिसलाई रोजगारी उपलब्ध गराउन सरकार लागिपर्ने उनको भनाइ छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्