sevenstartv.com ८ मंसिर २०८३, मङ्गलवार

तीन अध्यादेश अध्ययन गर्दै राष्ट्रपति

८ मंसिर २०८३, मङ्गलवार स्टार संवाददाता

काठमाडौँ । नेपाल सरकारले सिफारिस गरेका ३ अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले अध्ययन गरिरहेका छन् । बालेन्द्र शाह नेतृत्वको एकल बहुमतको मन्त्रिपरिषद् बैठकले कात्तिक १७ गते सिफारिस गरेका २ अध्यादेश र मंसिर ४ गतेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको एउटा अध्यादेश राष्ट्रपति पौडेलले अध्ययन गरिरहेका हुन् ।

संघीय संसद्को बजेट अधिवेशन असोज १६ गते अन्त्य भएपछि सरकारले ८ अध्यादेश सिफारिस गरिसकेको छ । ती अध्या मध्ये ५ अध्यादेश राष्ट्रपति पौडेलले जारी गरे पनि ३ अध्यादेश अध्ययन कै क्रममा रहेका छन् ।

मन्त्रिपरिषद्को बैठकले कात्तिक १७ गते प्रेस काउन्सिल नेपाल ऐन, २०४८ संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश जारी गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । साथै मन्त्रिपरिषद्को मंसिर ४ गतेको बैठकले ‘जेन–जी आन्दोलनमा भएका घटनाका मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग अध्यादेश, २०८३’ पनि जारी गर्नका लागि राष्ट्रपति पौडेल समक्ष सिफारिस गरेको गरेको थियो ।

उक्त ३ वटै अध्यादेश राष्ट्रपति पौडेलले स्वीकृत गरेका छैनन् । जेन–जी आन्दोलनमा भएका घटनाका मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग अध्यादेश, २०८३’ सोमबार मात्रै राष्ट्रपति कार्यालयमा दर्ता भएको हो भने बाँकी अध्यादेश राष्ट्रपति कार्यालयमा दर्ता भएको ३ साता बढी भइसकेको छ ।

राष्ट्रपति पौडेलले नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठान अध्यादेश, विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश र विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेका छन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्