आजका प्रमुख सात समाचार
काठमाडौं ।
सहकारी समिति
सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलसँग छलफल गरेको छ ।
समितिले अर्थमन्त्रीसहित योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी,राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेको हो ।
समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले संविधान र कानूनी व्यवस्थामा आधारित भएर समितिको प्रतिवेदनको अन्तिम रुप दिनेगरी सुझाव लिन अर्थमन्त्रीसहित योजना आयोगका उपाध्यक्ष र राष्ट्र बैंकका गभर्नरसँग छलफल गरेको बताए ।
उनले समितिमा उपप्रधान तथा अर्थमन्त्री पौडेलले नेपालको अर्थतन्त्र समाजवादउन्मुख मिश्रित रहेको भन्दै सार्वजनिक, निजी र सहकारीलाई संविधानमा व्यवस्थित गरिएको जानकारी दिनुभएको उल्लेख गरे ।
छरिएर रहेको पुँजी, सीप र श्रमशक्तिलाई सहकारीको माध्यमबाट परिचालन गरी राष्ट्रिय पुँजी निर्माण गरी उत्पादन बढाउन सहकारीको भूमिका रहेको उल्लेख गरेको बताए ।
सहकारी ऐनमा स्वनियमन व्यवस्थाले अपेक्षाकृत परिणाम नदिँदा सहकारीमा विकराल अवस्था आएको अर्थमन्त्रीको भनाई थियो । अर्थमन्त्रीले सहकारीको ऋण तिर्दिन भनेर अभियान चलाउने माथि सरकारले छुट नदिने उल्लेख गरेको पनि सभापति थापाले बताए ।
त्यस्तै समितिमा राष्ट्रिय योजना आयोजका उपाध्यक्ष डा.अधिकारीले सहकारीको हिसावले भन्दा पनि निजी क्षेत्रका हिसावले चल्न खोज्दा समस्या भएको बताएको जानकारी दिए । त्यस्तै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारी क्षेत्रलाई दोस्रो नियमन निकाय बनाएर प्रभावकारी रुपमा हेर्नुपर्ने बताए ।
गभर्नर अधिकारीले सहकारी क्षेत्रलाई व्यवस्थित गर्ने लामो समयदेखि छलफल चले पनि अहिलेसम्म समाधान नभएको उल्लेख गरेको सभापति थापाले बताए । यसअघि समितिले सहकारीको रकम दुरुपयोगमा संलग्न भनिएका आरोपित, पीडित, सहकारी विज्ञ, गृहमन्त्री, प्रहरी प्रमुख लगायतसँग छलफल गरेको थियो ।।
माधव नेपाल
नेकपा (एकीकृत समाजवादी)ले नदी किनाराका जमिन खाली गराउने अदालतको फैसलाले जनताको निजी सम्पत्तिमाथिको संवैधानिक अधिकार हनन गरेको निष्कर्ष निकालेको छ ।
पार्टीले जनताको पक्षमा उभिने र यसका लागि सबै किसिमका संवाद गर्दै दबाबकारी कार्यक्रम गर्नसमेत पहल गर्ने भएको छ ।
पीडित जनतासँग तत्काल अन्तरक्रिया गर्न र पार्टीको धारणा जनतासम्म पु¥याउन पार्टीका सम्बन्धित कमिटीहरूलाई निर्देशन गरेको छ ।
आइतबार उपत्यकाका पार्टी नेताहरूको डेलिगेसनलाई सम्बोधन गर्दै अध्यक्ष माधव नेपालले सो निर्देशन दिएका हुन् ।
मुख्यसचिव अर्याल
मुख्यसचिव एक नारायण अर्यालले काठमाडौं उपत्यकाका खोला किनारमा संरचना बनाउँदा थप २० मिटर छाड्नुपर्ने सर्वोच्चको फैसला पुनरावलोकन गर्नुपर्ने बताएका छन् ।
नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुको भेटमा उहाँले काठमाडौं उपत्यकाका खोला किनारमा संरचना बनाउँदा थप २० मिटर छोड्नुपर्ने सर्वोच्चको फैसला रिभ्यु हुनुपर्ने उल्लेख गरे । उनले अदालतको फैसलाले महानगर र सरकारले गर्नुपर्ने केही राम्रा कुरा आएको बताए ।
उनले अदालतको फैसला कार्यान्वयन गर्दा अफ्ठ्यारो पर्ने अवस्था पनि रहेको भन्दै पुनरावलोकन आवश्यक रहेको उल्लेख गरे । उनले काठमाडौं उपत्यकाका खोला किनारमा संरचना बनाउँदा थप २० मिटर छाड्नुपर्ने सर्वोच्चको फैसला सम्बन्धमा सरकारको धारणा पेश गर्ने तयारीमा काम गरिरहेको बताए ।
पर्यटनमन्त्री
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले हवाई दुर्घटना जाँचबुझका लागि छुट्टै संस्था स्थापना गर्ने घोषणा गरेका छन् ।
नेपालमा हवाई दुर्घटनापछि गठित छानविन समितिको विश्वसनीयतामाथि प्रश्न उठाउने काम भईरहेका बेला मन्त्री पाण्डेले सो कुरा बताए । उनले त्यसका लागि आवश्यक ऐन बनाउनका लागि सरकारले गृहकार्य गरिरहेको पनि बताए ।
आईतवार भक्तपुरमा आयोजित ‘नेपालमा हवाई सुरक्षा’ सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले हवाई दुर्घटना छानविनको लागि जाँचबुझ गर्ने छुट्टै निकाय बनाउने अभ्यास अन्य देशहरुमा पनि भएकाले सरकारले पनि त्यसलाई बनाउने तयारी गरेको स्पष्ट पारे । उनले हवाई सुरक्षालाई ध्यानमा राखेर सरकारले गैर सैनिक हवाई ऐनलाई परिमार्जन गर्ने कामलाई पनि अघि बढाएको बताए ।
मन्त्री पाण्डेले सरकारले हवाई दुर्घटनामा परेकाहरुलाई विमाको दायरामा ल्याउने नीतिगत व्यवस्था पनि गर्ने बताए ।।
सांसद जेल
लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी कारागार चलान भएका छन् ।
३३ वर्ष पुरानो मुद्दामा दोषी ठहरिएका सांसद केसीले आइतबार रुकुम पूर्व जिल्ला अदालत पुगेर आत्मसर्मण गरेका हुन् । उनलाई आइतबार नै कारागार चलान गरिएको रुकुम पूर्वका डीएसपी माधव खरेलले जानकारी दिए ।
३३ वर्ष पहिले धनबहादुरलाई रुकुम जिल्ला अदालतले कीर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो ।
श्रीमतीसँगको अंश मुद्दामा प्रदेश सांसद केसीले कीर्ते गरेको अभियोगमा साविक रुकुम जिल्ला अदालतले उनलाई २०४८ साल असार ९ गते दोषी ठहर गरेको थियो ।
लामो समयदेखि प्रहरीको फरार सूचीमा भए पनि उनी पक्राउ परेका थिएनन् । उनी गत निर्वाचनमा केसी नेपाली कांग्रेसको तर्फबाट रुकुम पूर्वको प्रदेशसभा क्षेत्र नं १ बाट निर्वाचित भएका थिए ।
चेक अनादर
चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय हुने भएको छ । संसदको अर्थ समितिको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि दफावार छलफलपछि सर्वसम्मत पारित भएको हो ।
संशोधन विधेयकमा सहमति भएसँगै चेक अनादरसम्बन्धी मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय हुनेछ ।
दफावार छलफलमा बोल्दै समिति सभापति सन्तोष चालिसेले बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० मा चेक अनादर प्रमाणित भएमा पाँच प्रतिशत जरिवानासहित एक महिनादेखि अधिकतम दुई वर्षसम्म कैद सजाय व्यवस्था गर्ने विषयमा सर्वसहमतिले पास भएको घोषणा गरे ।
उनले चेक अनादर प्रमाणित भएमा पाँच प्रतिशत जरिवाना हुने सहमति भएको पनि बताए । छलफलमा बोल्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले उहाँले संशोधन विधेयक माथि समितिले व्यवस्था गर्ने विषयमा समिति स्वतन्त्र रहने भन्दै समितिमा भएका छलफल सकारात्मक रहेको बताए ।
उनले चेक अनादरको प्रवृत्ति बढ्दै गएको र यसलाई नियन्त्रण र निरुत्साहित गर्न जरुरी रहेको बताए । उनले कसुरको तहका आधारमा सजायको व्यवस्था गर्दा उपयुक्त हुने धारणा राखे ।
कांग्रेसको सम्मान
नेपाली कांग्रेसले ओलम्पिक पदक विजेता खेलाडी पलेशा गोवद्र्धनलाई सम्मान गरेको छ । पार्टी कार्यालय सानेपामा एक कार्यक्रमकाबीच पदकधारी पलेशालाई पाँच लाख नगदसहित सम्मान गरेको हो ।
यस्तै हभागी खेलाडी भरतसिंह महतालाई ५० हजार, प्रशिक्षक कविराज नेगी लामालाई १ लाख ५० हजारसहित सम्मान गरिएको छ । सम्मान कार्यक्रममा बोल्दै सभापति शेरबहादुर देउवाले नेपाललाई विश्वभर चिनाउने कडीका रुपमा खेलकुद क्षेत्रलाई लिनुपर्ने बताएका छन् ।
पार्टी कार्यालयमा पाराओलम्पिकमा काँस्य पदक विजेता पलेशा गोवद्र्धनलाई सम्मान गर्दै देउवाले खेलाडीहरु राष्ट्रका गहना भएको उल्लेख गर्दै खेलाडीहरुको सम्मान गर्न सक्नुपर्ने बताए ।
सभापती देउवाले नेपालको इतिहासमा अन्तर्राष्ट्रिय स्तरको काँस्यपदक प्राप्त हुनुले पनि नेपालको इज्जत बढेको भन्दै गोवद्र्धनको प्रशंसा गरे ।
यस्तै, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीलाई विदेश पलायन हुनबाट रोक्न उनीहरुलाई शिक्षा, स्वास्थ्य र रोजगारी दिनुपर्ने बताएका छन् । उनले नेपालमा खेलकुदको सम्भावना बढी रहेको भएपनि खेलाडीहरु विदेश पलायन भइरहेको अवस्था रहेको बताए ।
उनले १३ औं सागमा सहभागी २०७ जना खेलाडीमध्ये सय बढी खेलाडीहरु विदेश पलायन रहेको जानकारी आफूले पाएको पनि बताए ।




