sevenstartv.com १६ असार २०८३, मङ्गलवार

प्रतिक्रान्तिका प्रयासविरुद्ध फेरि एउटा संघर्ष आवश्यक छ : अध्यक्ष दाहाल

२३ भदौ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिक्रान्तिका हर्कतहरु भइरहेको उल्लेख गर्दै यसविरुद्ध फेरि एउटा संघर्ष आवश्यक रहेको बताएका छन् । 

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित सहिदद्वय सुरेश वाग्ले ‘बासु’ र भीमसेन पोख्रेल ‘वैरागी’को २५ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै उनले जनताको बलिदान र अधिकारविरुद्ध भइरहेको प्रतिक्रान्तिका प्रयासकाविरुद्ध संघर्ष गर्नुपर्ने स्थिति आएको बताएका हुन् । 

क्रान्तिका उपलब्धिलाई उल्ट्याउन निकै कसर भइरहेको उल्लेख गर्दै उनले अहिले क्रान्तिकै बलमा स्थापित व्यवस्थाको उपभोग गरेकाहरुले नै बढी क्रान्ति र क्रान्तिकारी आन्दोलनको अपमान गर्ने प्रयास गरिरहेको बताए ।  ‘हामीले गरेको परिवर्तनकारी र बलिदानीपूर्ण जनयुद्धलाई संविधानमा जनताको सशस्त्र संघर्ष र त्यसको ब्याख्यात्मक टिप्पणीमा माओवादी जनयुद्ध भनेर लेखेका छौं’,उनले भने, ‘तर, जसको मुख्य कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आयो, त्यही व्यवस्थामा बसेर जनयुद्धलाई नै अपमान गर्ने काम भइरहेको छ । त्यसका विरुद्ध संघर्षको संकल्प गर्नुको नै सहिदहरुप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।’

नेपाली मौलिकतामा पूजीवादी जनवादी क्रान्ति सफल भएपछि अब समाजवादी क्रान्तिमा अघि बढ्दा दलाल पूँजीपति, नोकरशाही वर्ग र सामन्ती अवशेषका विरुद्ध संघर्ष अपरिहार्य रहेको स्पष्ट गर्दै उनले विचार, राजनीतिक एजेण्डा र क्रान्तिकारी विरासतमा आफूहरु बलियो भएकाले संघर्षमा विजय प्राप्त गरेरै छाड्ने बताए । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्