आजका प्रमुख सात समाचार
कामामाडौं ।
ओली–मोदी
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतसम्बन्धि प्रवुद्ध व्यक्ति समूह (इपीजी) को प्रतिवेदन अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् ।
शनिवार आफ्नै सरकारी निवास बालुवाटारमा आयोजित सूर्यनाथ उपाध्यायद्वारा लिखित पुस्तक ‘इन्टरनेशनल वाटरकोर्स लः अ परसपेक्टिभ अन नेपाल इण्डिया ओअपरेशन’ कार्यक्रममा प्रधानमन्त्री ओलीले इपिजी बनाउनेहरु नै दुवै देशको प्रधानमन्त्री भएकाले सो प्रतिवेदन अघि बढ्ने बताएका छन् ।
दुई मुलुकबीचमा देखिएका समस्या समाधानका लागि अघिल्लो पटक आफू प्रधानमन्त्री भएको बेला गठित सो समूहको प्रतिवेदन अहिले आफू पुनः प्रधानमन्त्री भएर आएको र भारतीय प्रधानमन्त्री पनि नरेन्द्र मोदी आफैं रहेकाले सो प्रतिवेदन भारतीय पक्षले पनि अघि बढाउने प्रधानमन्त्री ओलीको भनाई थियो ।
उनले सो प्रतिवेदन बुझ्नका लागि आफू तयार रहेको र भारतीय पक्ष पनि तयार हुने बताए । प्रधानमन्त्री ओलीले इपिजी प्रतिवेदनले दिएको सुझावको आधारमा दुई मुलुकबीच देखिएको समस्या समाधानका लागि छलफल गरेर अघि बढ्न सकिने बताए ।
कानूनविद् डा. विपिन अधिकारीले नेपाल–भारतले ईपीजी प्रतिवेदन अघि बढाउन ढिलाई गर्न नहुने बताएका छन् । दुई मुलुकबीचको असमानतालाई हटाउन पनि सो प्रतिवेदन बुझ्ने र त्यसै अनुसार अघि बढ्ने काममा ढिलाई गर्न नहुने उनको भनाई थियो । उहाँले दुई मुलुकबीचका देखिएका असमानका सम्बन्धलाई सम्बोधन गर्ने कुरामा सरकारले ढिलाई गर्न नहुने बताए ।
प्रचण्डलाई चेतावनी
प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसाको महिमा मण्डन नगर्न माओवादी केन्द्रलाई चेतावनी दिएका छन् ।
शनिवार काठमाडौंमा २१ औं निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा (माओवादी केन्द्र) र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै हिंसाको महिमा मण्डन गर्न छोडेर देश विकासमा लाग्न आग्रह गरे ।
उनले देशमा हिंसा रहेको र त्यसलाई व्यवस्थापन गर्नुपर्ने अवस्थाअनुसार व्यवस्थापन भएको जनाए । उहाँले माओवादी युद्ध महान थियो भने किन छोडेको, किन शान्ति प्रक्रियामा आएको भन्दै प्रश्न समेत गरे ।
उनले महान जनयुद्ध भएको भए सफल हुनुपर्ने भन्दै जन आन्दोलन फेल नहुने जिकिर गरे । उनले जनताका नाममा एक मुठी मान्छेले आफ्नो रहरका लागि निर्देशित, प्रायोजित वा अरु प्रकारका रहरहरु लाद्न खोजे देशले स्वीकार नगर्ने बताए ।
प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनमा नेवाः समुदायले गरेको योगदान अविस्मरणीय रहेको बताएका छन् ।
१२ वर्षे रुद्रायणी मेला समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यही योगदानको फलस्वरुप संविधानमार्फत सबै समुदायको अधिकार एक हदसम्म सुनिश्चित गरेको बताए ।
अध्यक्ष प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धि हुँदै जनताले देखेको समाजवादको सपना पूरा गर्नुपर्ने बताए ।
महासचिव भुसाल
नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले ४० करोड भन्दा माथिको भ्रष्टाचार मुद्दामा राष्ट्रिय सहमति हुने गरेको बताएका छन् ।
शनिवार हरि रोकाद्वारा लिखित पुस्तक ‘वैकल्पिक अर्थतन्त्र’ विमोचन र विमर्श कार्यक्रममा महासचिव भुसालले ४०÷५० करोड रुपैयाँभन्दा माथिका कुनैपनि भ्रष्टाचारका मुद्दामा दलहरुको बीचमा राष्ट्रिय सहमति हुने बताएका हुन् ।
उनले ठूला भ्रष्टाचारहरु एमाले, माओवादी, एकीकृत समाजवादी लगायतका दलहरुको संलग्नता बिना नहुने बताएका हुन् ।
उनले ठूला दलहरुका बीचमा राष्ट्रिय सहमती गरेर भ्रष्टाचार हुने गरेको भन्दै राजनीति, पार्टी र मुलुक नै सकिराखेका बताए । उनले राजनीतिक दल र दलका नेता भ्रष्टाचारमुक्त भएपछि मात्रै समाजवाद तिर जान सकिने बताए ।
उनले घुस खाने मान्छे उत्पादन नगर्ने पार्टी निर्माण नगरेसम्म कृषिमा आत्मनिर्भर हुन नसकिने बताए ।
रक्षामन्त्री
रक्षामन्त्री मानवीर राईले आफूलाई फोन उठाएन भनेर आलोचना नगर्न आग्रह गर्नुभएको छ ।
शनिवार आफ्नै जिल्ला सोलुखुम्बुको जिमी राई उत्थान समाजद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले व्यवस्थाले गर्दा फोन उठाउन नभ्याउने अवस्था भएकाले त्यसमा अन्यथा नठान्न मन्त्री राईले जिल्लावासीलाई पटक पटक आग्रह गरे ।
उनले बिहान बेलुका फुर्सद हुँदा आफूले फोन उठाउने र नभ्याए आफ्नो स्वकीयलाई सम्पर्क गरेर भएपनि आफूलाई जानकारी गराउन पनि उनले अनुरोध गरे ।
एमबीबीएस
चिकित्सा शिक्षा आयोगले शिक्षण संस्थाहरूलाई शैक्षिक सत्र ०८१÷८२ (ब्याच २०२५) का लागि ८ हजार ७० सिट निर्धारण गरेको छ ।
आयोग कार्यकारी समितिको बैठकले साउन ३२ गते नै यस्तो सिटसङ्ख्या निर्धारण गरेको थियो । सो को विवरण आयोगको योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयले शुक्रवार सार्वजनिक गरेको हो ।
आयोगले राष्ट्रिय चिकित्सा ऐन, २०७५ र राष्ट्रिय चिकित्सा नियमावली, २०७७ बमोजिम विदेशी, सैनिक कल्याणकारी कोष, सःशुल्क तथा छात्रवृत्ति (खुला तथा आरक्षित) समूह खुलाई विस्तृत विवरण प्रकाशन हुने समेत जनाएको छ ।
सन् २०२४ का लागि आयोगले कूल ७ हजार ५०४ सिट निर्धारण गरेको थियो । सन् २०२५ का लागि ११ हजार ७३५ सिट माग भएकोमा ८ हजार ७० सिट निर्धारण गरेको हो ।
एपीएफको जीत
विभागीय टोली एपीएफले राजधानीमा जारी एन्फा महिला लिगमा पहिलो जित हासिल गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार भएको खेलमा एपीएफले आर्मीलाई २–१ ले हराएको हो । जितसँगै एपीएफले तीन अंक जोडेको छ ।
पहिलो हाफको इन्जुरी समयमा सावित्रा रानामगरले एपीएफलाई सुरुआती अग्रता दिलाइन् । जारी प्रतियोगितामा एपीएफको यो पहिलो गोल हो । यसअघि एपिएफ पुलिससँग गोलरहित बराबरीमा रोकिएको थियोे ।
खेलको ५६औं मिनेटमा आर्मी खेलमा फर्कियो । विमला चौधरीले डीबक्स बाहिरबाट गरेको प्रहारले सीधै जाली चुम्यो ।
६७औं मिनेटमा आर्मीकी गोलकिपर अञ्जना रानामगरले अनावश्यक रूपमा अनिता केसीलाई पेनाल्टी बक्सभित्र लडाउँदा एपिएफले पेनाल्टी पाएको थियो । जसलाई गीता रानामगरले गोलमा परिणत गरिन् ।




