४० करोड माथिको भ्रष्टाचार मुद्दामा राष्ट्रिय सहमति हुन्छ : महासचिव भुसाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले ४० करोड भन्दा माथिको भ्रष्टाचार मुद्दामा राष्ट्रिय सहमति हुने गरेको बताएका छन् ।
शनिवार हरि रोकाद्वारा लिखित पुस्तक ‘वैकल्पिक अर्थतन्त्र’ विमोचन र विमर्श कार्यक्रममा महासचिव भुसालले ४०-५० करोड रुपैयाँभन्दा माथिका कुनैपनि भ्रष्टाचारका मुद्दामा दलहरुको बीचमा राष्ट्रिय सहमति हुने बताएका हुन् । उनले ठूला भ्रष्टाचारहरु एमाले, माओवादी, एकीकृत समाजवादी लगायतका दलहरुको संलग्नता बिना नहुने बताए ।
उनले ठूला दलहरुका बीचमा राष्ट्रिय सहमती गरेर भ्रष्टाचार हुने गरेको भन्दै राजनीति, पार्टी र मुलुक नै सकिराखेका बताए । उनले राजनीतिक दल र दलका नेता भ्रष्टाचारमुक्त भएपछि मात्रै समाजवाद तिर जान सकिने बताए । उनले घुस खाने मान्छे उत्पादन नगर्ने पार्टी निर्माण नगरेसम्म कृषिमा आत्मनिर्भर हुन नसकिने बताए ।
महासचिव भुसालले नेपालमा लोकप्रियतावादले समाजवादलाई बिगारेको बताए । उनले समाजवादको भाष्यलाई सबैभन्दा बढी प्रधानमन्त्री केपी ओलीले बिगारेको आरोप लगाए । उनले सरकारले दृढ संकल्प लिन सकेमा र सोही अनुसारको काम गर्न सकेमा ५ वर्षमा कृषि उपजमा आत्मनिर्भर हुन सकिने बताए ।
त्यस्तै १२ वर्षमा गरिबी र बेरोजगारीलाई हटाउन सकिने उनको भनाई थियो ।




