आजका सात समाचार
काठमाडौं ।
बाबुराम ओली
बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले संक्रमकालीन न्याय सम्बन्धि बाँकी कामलाई छिटो सम्पन्न गर्न सरकारसँग आग्रह गरेको छ ।
शुक्रवार सिंहदरवारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी सो पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. भट्टराईले दलीय सहमतीको आधारमा सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोग गठन गठन तत्काल गरी सो काम छिटो सम्पन्न गर्नुपर्ने लगायतका १९ बुँदे काम प्रश्तुत गरेका हुन् ।
आफूहरुले तत्कालीन द्वन्दरत पक्षहरुको सहमतिमा मात्रै ती दुवै आयोग बनाउने र संक्रमणकालीन न्याय सम्बन्धि बाँकि काम छिटो टुंगोमा पु¥याउने आशयका साथ १९ बुँदे माग पत्र सरकारलाई सुझाएको पार्टीका अध्यक्ष डा. भट्टराईले बताए ।
माग पत्रमा ती दुवै आयोगको प्रमुख राजनीतिक र कानून दुवै विषय बुझेको हुनुपर्ने कुरामा पनि जोड दिइएको छ ।
अध्यक्ष भट्टराइले संक्रमणकालीन न्याय विषयलाई अन्य अपराध कर्मको रुपमा लिने र त्यही अनुसार अदालती प्रक्रियामा जाने हो भने सो कुरा आफूहरुलाई मान्य नहुने अडान पनि स्पष्ट पारे ।
मन्त्रिपषिद्का निर्णय
प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो विदेश भ्रमण अमेरिकबाट हुने भएको छ ।
प्रधानमन्त्री ओली संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्र संघको ७९ औं महासभामा सहभागी हुने भएका हुन् ।
बिहीबारको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधि मण्डललाई सो महासभामा भाग लिनका लागि स्वीकृति प्रदान गर्ने औपचारिक निर्णय गरेको हो ।
आगामी असोज ७ गतेदेखि अमेरिकाको न्युयोर्कमा आयोजना हुने सो महासभामा भाग लिनका लागि प्रधानमन्त्री ओलीको नेतृत्वको टोलालाई प्रतिनिधिमण्डल गठन गर्न समेत सहमति दिइएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रवार पत्रकार सम्मेलन गरी जानकारी दिए ।
विमान दुर्घटना
सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे अध्ययन गर्न बनेको समितिले विमानमा भएको तौलको सन्तुलन (लोड ब्यालेन्स) नमिलेको प्रारम्भिक प्रतिवेदनमा औँल्याएको छ ।
तौल र टेकअफको गति नमिलेका कारण जहाजले उचाइ लिन नसकेको प्रारम्भिक प्रतिवेदनमा जनाइएको छ ।
मर्मतका लागि राखिएका सामग्री जहाजमा नबाँधेर राखेको, सबैतिर तौलको सन्तुलन नमिलाएका कारण जहाजले टेकअफ गर्न साथ सामान सरेर सन्तुलन बिग्रिएको प्रारम्भिक निष्कर्ष निकालिएको छ ।
जहाजको इन्जिनमा कुनै खराबी नदेखिएको प्रतिवेदनमा जनाइएको छ । ब्यागेजसहित १८,१३२ किलो तौलसहित जहाजले टेकअफ गरेको थियो । जसमा थप २००० किलो इन्धन थियो । ‘टेकअफ वेट’लाई तोकिएको जहाजको गति (भी स्पिड) नै गलत दिइएको निष्कर्ष अध्ययनको छ ।
मर्मतका लागि उडेको जहाजलाई दिइएको अनुमतिको कार्यविधिसमेत पालना नभएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा उडानअघि जहाज ३४ दिनसम्म ग्राउण्डेड गरिएको उल्लेख छ ।
बालेनको पोष्ट फिर्ता
काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साहले एमालेकी प्रदेश सांसदलाई लक्षित गर्दै लेखेको पोस्ट फेसबुकले फिर्ता गरिदिएको छ ।
एमाले लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्मालाई लक्षित गर्दै मेयर शाहले लेखेको घरेलु बालश्रम सम्बन्धी स्टाटसलाई फेसबुकले कम्युनिटी स्ट्यान्डर्ड उल्लंघन भएको भन्दै तीन दिनअघि हटाएको थियो ।
फेसबुकले साहबाट ह्यारेसमेन्ट र बुलिइङ समेत भएकाले पोष्ट हटाइएको सूचना पठाएको थियो । साहले आफ्नो पोस्ट सरकारले हटाएको भन्दै प्रधानमन्त्री केपी ओलीविरुद्ध रोष प्रकट गर्नु भएको थियो । त्यसपछि साहका केही निकटस्थ र समर्थकले प्रधानमन्त्री ओलीको फेसबुक पेजमा अनफलो अभियान समेत चलाएका थिए ।
सरकारले भने त्यो पोस्ट आफूले नहटाएको, बरु साह आफैंले हटाएको बताउँदै आएको थियो ।
ओली र साह दुवैले यसबारे औपचारिक रुपमा केही नभने पनि एमाले पार्टी पंक्ति र साहका समर्थकबीच फेसबुकमा आरोप प्रत्यारोप नै चलेको थियो । शुक्रबार अपराह्न फेसबुकले उक्त पोस्ट फेरि प्रकाशित भएको खुलाउँदै सूचना पठाएको हो ।
टीकटकको प्रतिबन्ध हट्यो
सरकारले सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई टिकटकको प्रतिबन्ध हटाउन निर्देशन दिएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै मन्त्रिपरिषदको निर्णयअनुसार टिकटकमा लगाइएको रोक हटाउन निर्देशन दिएको छ । शर्तसहित प्रतिबन्ध हटाउने सरकारको निर्णयपछि टिकटकका प्रतिनिधिहरु काठमाडौं आएका थिए ।
टिकटकको सिंगापुरस्थित कार्यालयबाट आएका तीन जना प्रतिनिधिले सरकारले राखेका शर्तहरु पूरा गर्ने प्रतिवद्धता पत्र दिएपछि मन्त्रालयले प्राधिकरणलाई मन्त्रिपरिषदको निर्णय जानकारी गराउँदै टिकटकमाथिको रोक हटाउन निर्देशन दिएको थियो ।
सामाजिक सद्भाव खलबल्याएको भन्दै सरकारले २७ कात्तिक २०८० मा टिकटक बन्द गरेको थियो । त्यसको करिब साढे नौ महिनापछि गत ६ भदौमा मन्त्रिपरिषद बैठकले शर्तसहित टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय लिएको थियो ।
टिकटक नेपालमा दर्ता हुनुपर्ने, ‘प्वाइन्ट अफ कन्ट्याक्ट’ अर्थात् सम्पर्क केन्द्र तोक्नुपर्ने, नेपालको पर्यटन प्रवद्र्धन, डिजिटल सुरक्षा, डिजिटल साक्षरता, सार्वजनिक शिक्षाका क्षेत्रमा सहयोग गर्नुपर्ने शर्त सरकारले राखेको थियो ।
केन्या
केन्याको एक स्कुलमा आगलागी हुँदा कम्तीमा १७ विद्यार्थीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार बिहीबार राति न्येरी काउन्टीस्थित हिलसाइड एंडराशा प्राइमरी स्कुलमा आगलागी भएको थियो । कैयौं विद्यार्थीहरु गम्भीर घाइते भएर अस्पताल भर्ना भएकाले प्रहरीले मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरेको छ । प्रहरीले घटनाबारे छानबिन सुरु गरेको छ । यो एउटा निजी स्कुल भएकाले ६ देखि १४ वर्षसम्मका विद्यार्थी पढ्दै आएका छन् । समाचार एजेन्सी एएफसीका अनुसार उक्त स्कुलमा ८ सय बच्चा अध्ययन गरिरहेका छन् । केन्याली राष्ट्रपति विलियम्स रूटोले घटनालाई भयानक र विनाशकारी बताएका छन् ।।
एन्फा लिग
एन्फा महिला लिगमा आज चन्द्रपुर नगरपालिका र संकटा क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको आजको पहिलो खेल गोलरहित बराबरीमा सकिएको हो । बराबरीसँगै चन्द्रपुरले २ अंक भएको छ भने, संकटाले १ अंक जोडेको छ । पहिलो पटक लिग खेलिरहेको संकटा पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबसँग ४–० ले पराजित भएको थियो । यस्तै आजै भएको अर्को खेलमा नेपाल पुलिस क्लबले सुदूरपश्चिममाथि ९–० गोलअन्तरको जीत निकालेको छ । पहिलो चरणमा पुलिसले सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग गोलरहित बराबरी खेलेको थियो भने सुदूरपश्चिम बाग्मती युथ क्लबसँग पराजित भएको थियो ।




