छोटी भन्सार कार्यालय बन्द, विरोधमा उत्रिए मधेशका सांसद सडकमा, हुलाकी मार्ग अवरुद्ध, सवारी आवागमन प्रभावित
काठमाडौं । सिरहाको बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय बन्द गरिएको विरोधमा स्थानीयवासी तथा व्यापारीहरूले हुलाकी मार्ग अवरुद्ध गरेका छन् । नेपाल सरकारले वैशाख २१ गते राजपत्रमा सूचना प्रकाशित गर्दै सिरहा–बरियारपट्टी छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेपछि त्यसको विरोधमा आन्दोलन चर्किएको हो ।
स्थानीय सर्वसाधारण तथा व्यापारीहरूले बरियारपट्टी गाउँपालिका–३ स्थित बरियारपट्टी चोकमा सडकको बीचभागमा बेन्च राखेर हुलाकी मार्ग अवरुद्ध गरेका हुन् । आन्दोलनमा बजार व्यवस्थापन समिति, मधेश प्रदेश सभा सदस्य संजय कुमार यादव, सुखीपुर उद्योग व्यापार समितिसहित स्थानीयले हुलाकी मार्ग अवरुद्ध पारेका छन् ।
प्रदर्शनकारीहरूले छोटी भन्सार पुनः सञ्चालन गर्नुपर्ने माग राख्दै दैनिक रुपमा विरोध प्रदर्शन गर्दै आइरहेको छ । सडक अवरुद्ध भएपछि हुलाकी मार्ग भएर सञ्चालन हुने सवारी आवागमन प्रभावित बनेको छ । स्थानीयले छोटी भन्सार बन्द हुँदा सीमा क्षेत्रको व्यापार तथा दैनिक आर्थिक गतिविधिमा प्रत्यक्ष असर पर्ने भन्दै निर्णय फिर्ता लिन सरकारसँग माग गरेका छन् ।
