आजका प्रमुख सात समाचार
काठमाडौं ।
तीजको रमझम
हरितालिका तीजको अघिल्लो आज दर खाएर मनाइएको छ ।
दरखाने दिन परिवार, इष्टमित्र र छिमेकी भेला भएर विभिन्न परिकार खाँदै रमाइलो गर्ने चलन छ । दर खाएको भोलिपल्ट निराहार व्रत बस्ने चलन भएकाले त्यसको आडिलोका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएको खानेकुरा खाने चलन छ ।
सनातन हिन्दु धर्मावलम्बी नेपाली महिलाहरूले विशेष तयारीका साथ तीज पर्व मनाउने क्रम यसै दिनदेखि दिनबाट सुरु हुन्छ ।
दरखाने दिनलाई परिवार, नातेदार र आफन्तबीचको एकता र मेलमिलापको प्रतीकको रुपमा पनि लिइन्छ । यसदिन परिवारका सबै सदस्य, आफन्त र साथीहरूलाई आमन्त्रित गरिन्छ ।
सबैजना एक ठाउँमा भेला भएर भोजन गर्ने तथा नाचगान गर्ने पनि गरिन्छ । तीज र दरखाने दिन महिलाहरूका लागि विशेष अवसर हो, जहाँ उनीहरू आफ्नो सुखदुःख बाँड्ने गर्छन ।
शाब्दिक रूपमा दर भनेको दरो या बलियो भन्ने बुझिन्छ । भोलि व्रत या पूजा अर्चना गरेर मात्र खान पाउने प्रावधान भएको अवस्थामा अघिल्लो दिनको राति दरिलो वा आडिलो खाना खाएर सुत्ने, सकेसम्म ढिलो खाना खाएर सुत्ने चलन थियो, यही चलनलाई ‘दर खाने दिन’ भनिएको हो ।
पशुपतिमा तीज
हरितालिका तिजको तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा.मिलनकुमार थापाले तिजका लागि आवश्यक पर्ने सुरक्षा, स्वयंसेवा, चन्दन प्रसादको व्यवस्था, दर्शन मागको व्यवस्थापन अन्तिम चरणमा पुगेको बिहीवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
उनले भगवान श्रीपशुपतिनाथको दर्शन गर्न आउने दर्शनार्थीहरुको सुविधाका गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वानकी हुँदै उत्तरढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मुल ढोकाबाट बाहिरी निस्किएर कैलाश दक्षिण वृत्ता चप्पलकक्षबाट जत्ता–चप्पल लिएर फर्कने व्यवस्था व्यवस्था मिलाइएको बताए ।
त्यस्तै मित्रपार्क, जयवागेश्वरी–गौशाला–भुवनेश्वरी–शकराचार्यमठ दक्षिण हुदै फलामेपुल–पश्चिम सानो डोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोका हुदै बाहिरिने र शंकराचार्य मठ दक्षिण जुत्ता चप्पलकक्षबाट जुत्ता चप्पल लिई फर्कने व्यवस्था व्यवस्था मिलाइएको जानकारी दिए ।
नेपाली कांग्रेस
नेपाली कांग्रेसले विशुद्ध पार्टीको सांगठनिक कामका परिचालित हुने गरी सय दिने अभियानको घोषणा गरेको छ ।
केन्द्रीय नेतालाई १०० दिनसम्म तोकिएको जिल्लामा संगठनमा खट्ने गरी केन्द्रले कार्यादेश तयार गरेको छ । असोज १ बाट सुरु हुने सांगठनिक विशेष अभियान १० पुसमा सकिने छ ।
पार्टीको सबै तहका सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन, सदस्यता वितरण र नवीकरण कार्यलाई तिव्रता दिने गरी अभियान सुरु गर्न लागिएको कांग्रेसले जनाएको छ । अभियान मार्फत जिल्ला पुगेका केन्द्रीय नेताले विधान बमोजिम नियमित बैठक÷सम्मेलन नभएको भएर कारणको खोजी गरी समस्या समाधान गर्नुपर्नेछ ।
संगठनमा भएको विवाद समाधान गर्ने गरी तोकिएका प्रतिनिधिले स्थानीय तह र पार्टीको समन्वय गराउन भूमिका खेल्नुपर्ने हुन्छ ।
७७ जिल्लाका लागि केन्द्रीय प्रतिनिधि छनोट गर्ने कार्य अन्तिम चरणमा पुगेको कांग्रेसले जानकारी गराएको छ । महामन्त्री गगन थापाका अनुसार जिम्मेवारी लिएर गएको व्यक्तिले सम्बन्धित कार्यसमिति, सभापति वा केन्द्रबाट शीर्ष नेता बोलाएर भएपनि विवाद समाधान गरी फर्कनु पर्दछ ।
सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित निर्माणाधिन नयाँ संसद भवनको काम सकिन अझै डेढ वर्ष लाग्ने देखिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
आगामी चैत्र २० गतेसम्म निर्माण सकिसक्नुपर्ने सम्झौता रहेको भएपनि समयावधि भित्रै सक्नेगरी काम हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । उनले अझै डेढ वर्ष भन्दा अगाडि नयाँ संसद भवनबाट काम गर्न सकिने अवस्था नरहेको भन्दै छिटो काम सम्पन्न गर्न आग्रह गरे ।
मन्त्री गुप्ता
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय निजामती विधेयक पारित गर्न उच्च राजनीतिक तहमा छलफल गर्ने बताएका छन् ।
संसदीय समितिमा बोल्दै मन्त्री गुप्ताले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समिति बाट पारित गराउन उच्च राजनीतिक तहसँग समन्वय गर्ने बताएका हुन् ।
समितिमा आजदेखि विधेयकमाथिको सैद्धान्तिक छलफल प्रारम्भ भएको छ । बैठकमा बोल्दै उनले विधेयकमा १ हजार ५८३ वटा संशोधन प्रस्ताव रहेको र संशोधनमाथि छलफल गर्दा छलफलमै दुई वर्ष बित्न सक्ने भन्दै उच्च राजनीतिक तहसँग समन्वय गरेर निर्देशन लिने बताए ।
अमेरिकी आरोप
अमेरिकाले सन् २०२४ को राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको आरोप लगाउँदै रुसी सरकारी सञ्चारमाध्यमका अधिकारीमाथि प्रतिबन्ध लगाएको छ ।
अमेरिकाले रुसले राष्ट्रपति चुनावमा हस्तक्षेप गर्न ठूलो मात्रामा अभियान चलाएको आरोप लगाएको छ । रुस समर्थक सञ्चारमाध्यमका कारण अमेरिकाका संस्थाप्रति नागरिकको विश्वासमा आँच पु¥याउने प्रयास भइरहेको अमेरिकाले दाबी गरेको बीबीसीले जनाएको छ ।
रुसी टेलिभिजन आरटीले भने चुनाव हस्तक्षेपमा आफ्नो संलग्नताको आरोप अस्वीकार गर्दै आएको छ । ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले रुसको परियोजना युक्रेनका लागि अन्तर्राष्ट्रिय समर्थनलाई कमजोर पार्ने, रुस समर्थक नीति र हितलाई अगाडि बढाउने र संयुक्त राज्य अमेरिकाका मतदाताहरूलाई प्रभाव पार्ने भएको बताए ।
अमेरिकी महान्यायाधिवक्ता मेरिक गारल्यान्डले नोभेम्बरमा हुने राष्ट्रपति चुनावका उम्मेदवार डोनाल्ड ट्रम्प र कमला ह्यारिसबीचको दौडमा मस्को आफूलाई मनपर्ने परिणाम सुरक्षित गर्न लागिपरेको बताएका छन् ।
राष्ट्रपति जो बाइडेन प्रशासनले आरटीमा रुस समर्थक प्रचार र गलत जानकारी फैलाउन भुक्तानी गरेको आरोप लगाउँदै मुद्दा चलाएको छ । यस्तै रुसको क्रेमलिनको समर्थनमा सञ्चालित मिडियाका कर्मचारीहरूलाई भिसा प्रतिबन्ध पनि लगाएको छ ।
एनपीएल
नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टिमको मालिक घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सबैभन्दा बढी पोखराको टिमलाई बोली लागेको छ । नेपाल टी–२० प्रालिले ३ करोड ५७ लाख रुपैयाँमा पोखरा टिमको फ्रेन्चाइज लिएको छ । यस्तै काठमाडौंको फ्रेन्चाइजी कान्तिपुर पब्लिकेशनले पाएको छ ।
चितवनको चितवन मेडिकल कलेज, विराटनगरको एमएडी ड्रिम्स स्पोट्र्स, लुम्बिनीको फर्टुना हेल्थ केयर, जनकपुरको ड्रिम्स स्पोर्ट्स, कर्णालीको हिमालय बिल्डर्स र सुदूरपश्चिमको इम्पायर स्पोर्टसले फ्रेन्चाइजी लिएको छ ।




