sevenstartv.com १६ असार २०८३, मङ्गलवार

निजामती सेवा विधेयक छिटो पारित गर्ने सरकारको योजना

विधेयक पारित गर्न ढिला गरे जटिल समस्या आउन सक्ने भन्दै छिटो पारित गर्न संसदीय समितिलाई आग्रह

२० भदौ २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवा विधेयकमाथि छलफल अगाडि बढाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताका अनुसार ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ जति सक्दो छिटो पास गराउने सरकारको योजना छ ।

बिहीबार समितिको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले यो विधेयक बनाउन ढिलो भएको निश्कर्षमा सरकार पुगेको बताए । प्रस्तावित विधेयकमा १२४ समूहमा सांसदहरुले एक हजार ५८३ वटा संशोधन प्रस्ताव दर्ता गरेका हुन् ।

यो संशोधनमाथि एक÷एक गरेर छलफल अगाडि बढाए समय लाग्ने भन्दै मन्त्री गुप्ताले विषयका आधारमा छुट्याएर छलफल गर्न सुझाएका छन् । नेकपा एमालेका सांसद रघुजी पन्त, नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डे लगायतले विधेयकका प्रावधानहरूमा राजनीतिक दलहरुबीच सहमति आवश्यक रहेको बताए ।

उनीहरूको भनाइमा समर्थन जनाउँदै मन्त्री गुप्ताले राजनीतिक सहमतिका लागि पहल लिने प्रतिवद्धता जनाए । २१ फागुन २०८० मा दर्ता भएको निजामती विधेयकमाथि करिब छ महिनापछि समितिमा छलफल अगाडि बढेको हो ।

मुख्यसचिव एकनारायण अर्यालले सरकारलाई यो विधेयक पारित गर्न ढिला भएको महसुस भएको बताए । २०७२ सालमा संविधान जारी भएपछि प्रदेश र स्थानीय तहमा कर्मचारी पठाउन कर्मचारी समायोजन ऐन ल्याइएको थियो । तर तत्कालीन आवश्यकता पूरा गर्न ल्याइएको उक्त कानुनका कारण धेरै कर्मचारीको वृत्तिविकासमा असर परेको उनले बताए ।

अब बन्ने निजामती कानुन सेवामैत्री पनि हुनुपर्ने उनले बताए । अन्य विधेयकलाई छाडेर भए पनि यो विधेयकलाई अगाडि बढाइदिन राज्य व्यवस्था समितिलाई उनको आग्रह छ । यो विधेयकलाई अझै ढिला गरे जटिल समस्या आउन सक्ने उनको भनाइ छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्