कोशी प्रदेशको निजामती सेवा ऐनको संशोधन विधेयक पारित
काठमाडौं । कोशी प्रदेशसभाबाट प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ । बुधबारको प्रदेशसभा बैठकमा संशोधन प्रस्ताव दर्ता गरेका सांसद्ले संशोधन फिर्ता लिएपछि प्रदेशसभाबाट विधेयक पारित भएको हो ।
नेकपा माओवादी केन्द्रका सांसद् गोम्बु शेर्पा र गणेश उप्रेती, कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङ र एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले संयुक्त रुपमा संशोधन प्रस्ताव दर्ता गरेका थिए । नेकपा एमाले सांसद् इन्द्रमणी पराजुली र निरन राई, नेकपा एकिकृत समाजवादीको तर्फबाट कमलप्रसाद जवेगूले विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गरे ।
सरकारले राजनीतिक सहमतिका आधारमा पारित गर्ने भन्दै प्रदेशसभा बैठकअघि छलफल गरेको थियो । छलफलपछि संशोधन प्रस्तावमा उठाएका महत्वपूर्ण विषय स्वीकार गर्ने र स्वास्थ्य सम्बन्धि ऐन छुट्टै बनाउने सहमति भएपछि संशोधनकर्ताले संशोधन प्रस्ताव फिर्ता लिएका थिए । प्रस्ताव फिर्ता भएपछि प्रदेशसभा बैठकबाट विधेयक सर्वसम्मतले पारित भएको हो ।






