इरानले गर्यो अमेरिकासँगको ४५ दिने युद्धविरामको प्रस्ताव अस्वीकार
दुवै पक्षबीचको अविश्वास र कडा अडानका कारण सहमतिको बाटो अनिश्चित
काठमाडौं । इरानले अमेरिकासँगको ४५ दिने युद्धविरामको प्रस्ताव अस्वीकार गरेको छ । इजिप्ट, पाकिस्तान र टर्कीएका मध्यस्थकर्ताहरूले अमेरिका र इरानलाई हिजो ४५ दिने युद्धविराम प्रस्तावको मस्यौदा पठाएका थिए । प्रस्तावमा हर्मुज जलमार्ग खोल्ने र ४५ दिन अस्थायी युद्धविराम गर्ने उल्लेख थियो ।
युद्धविरामले आफूविरुद्ध युद्धको तयारी गर्न सघाउने इरानको आशंका छ । अमेरिकाले पनि यस युद्धविरामको प्रस्तावमा स्वीकृति नदिएको अमेरिकी समाचारसंस्था सीएनएनले जनाएको छ । इरानी विदेशमन्त्री अब्बास अराग्ची र अमेरिकी मध्यपूर्व दूत स्टिव विटकफमार्फत यो प्रस्ताव पठाइएको थियो ।
यद्यपि, दुवै पक्षबीचको अविश्वास र कडा अडानका कारण सहमतिको बाटो अनिश्चित देखिएको छ ।
