साना बचतकर्ताहरूको बचत फिर्ता गर्ने प्रक्रियालाई १०० दिनभित्रै सुरु गर्ने गरी कार्यविधि निर्माण
काठमाडौं । सरकारले सहकारीका साना बचतकर्ताहरूको बचत फिर्ता गर्ने प्रक्रियालाई १०० दिनभित्रै सुरु गर्ने गरी कार्यविधि निर्माण थालेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यस प्रक्रियालाई अगाडि बढाउन सरोकारवाला पक्षहरूसँग आज छलफल गर्ने भएको छ । मन्त्रिपरिषद्को गत चैत १३ गतेको बैठकले स्वीकृत गरेको ‘शासकीय सुधार सम्बन्धी कार्यसूची’ कार्यान्वयनका लागि मन्त्रालयले यो पहल सुरु गरेको हो । उक्त कार्यसूचीमा सहकारीका साना बचतकर्ताहरूको बचत फिर्ता गर्ने प्रक्रिया १०० दिनभित्रै सुरु गर्ने उल्लेख छ ।
सोही लक्ष्य प्राप्तिका लागि आवश्यक कार्यविधि निर्माण गर्न मन्त्रालयले सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानुलाई पत्र लेख्दै छलफलका लागि बोलाएको हो । मन्त्रालयका शाखा अधिकृत दुर्गा पौडेलद्वारा हस्ताक्षरित पत्रमा स्पष्ट लिखित सुझावसहित अधिकतम ५ जना प्रतिनिधिलाई उपस्थित हुन आग्रह गरिएको छ ।
