माधवकुमार नेपालविरुद्ध दायर भएको भ्रष्टाचार मुद्दाको पेसी चैत २७ गतेपछि चढ्ने
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध दायर भएको भ्रष्टाचार मुद्दाको पेसी चैत २७ गतेपछि चढ्ने भएको छ ।
विशेष अदालतस्रोतका अनुसार सबै बहसकर्तासँग २७ गतेभित्र बहसनोट पेश गर्न आदेश भएका कारण त्यसपछि पेसी चढ्ने भएको हो । विशेष अदालतका सदस्यहरु हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बहस नोट पेश गर्न आदेश दिएको हो ।
नेपालका तर्फबाट मुद्दाको पैरवी गरिरहेका अधिवक्ता डेकेन्द्रप्रसाद सुवेदीले पनि चैतको अन्तिम वा वैशाखको पहिलो साता पेसी चढ्ने सम्भावना रहेको बताउनुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते पतञ्जली जग्गा प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
भूमिसम्बन्धी ऐन२०२१ मा विपरीत काम गरेको कारण मुद्दा दायर भएको थियो । नेपालका विरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो जरिवाना र सजायको मागदाबी छ ।
