प्रस्तावित चार राजदूतको संसदीय सुनुवाइ हुँदै
काठमाडौं । संसदीय सुनुवाइ समितिमा आज पनि चार प्रस्तावित राजदूतको सुनुवाइ हुने भएको छ । बिहान ११ बजे बस्ने समितिको बैठकमा रुस, दक्षिण अफ्रिका, दक्षिण कोरिया र साउदी अरबका लागि प्रस्तावित राजदूतको सुनुवाइ हुन लागेको हो ।
रुसका लागि जङ्गबहादुर चौहान, दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाम्फ, दक्षिण अफ्रिकाका लागि प्रा.डा. कपिलमान श्रेष्ठ र साउदी अरबका लागि नरेशविक्रम ढकालको सुनुवाइ हुने बताइएको छ ।
सरकारद्वारा प्रस्तावित १७ मध्ये हाल सम्म ९ जनाको सुनुवाइ सकिएको छ । मंगलबार कतारका लागि रमेशचन्द्र पौडेलको मात्रै सुनुवाइ गरेको थियो ।यसअघि आइतबार चीनका लागि प्रा.डा.कृष्णप्रसाद ओली, भारतका लागि शंकर शर्मा, जर्मनीका लागि शैल रूपाखेती र डेनमार्कका लागि सुम्निमा तुलाधरको सुनुवाइ भएको थियो ।
सोमबार इजरायलका लागि धनप्रसाद पण्डित, मलेसियाका लागि नेत्रप्रसाद तिमल्सिना र पाकिस्तानका लागि रीता धिताल र पोर्चुगलका लागि प्रकाशमणि पौडेलको सुनुवाइ गरेको थियो । बुधवारको सुनुवाइपछि स्पेनका लागि सनिल नेपाल, श्रीलङ्काका लागि रामकृष्ण भट्टराई, संयुक्त अधिराज्यका लागि चन्द्रकुमार घिमिरे र संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मीको सुनुवाइ हुन बाँकी हुनेछ ।
सुनुवाइ समितिले नाम अनुमोदन गरिसकेपछि राष्ट्रपतिबाट राजदूत नियुक्ति हुने संवैधानिक व्यवस्था छ।






