एमालेले आजैदेखि आन्दोलन थाल्ने घोषणा
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य मान्यताको रक्षा गर्न एमालेले आजैदेखि आन्दोलन थाल्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत् उनले प्रदर्शनको कार्यक्रमबारे केही समयमा जानकारी गराउने जानकारी गराएका छन् ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरिएको घटनाले देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना गरेको उनको जिकिर छ । यस्ता गतिविधिले राजनीतिक प्रतिशोध र पूर्वाग्रहको झल्को दिएको उनको भनाइ छ ।
राजनीतिक बन्दी नहुनु लोकतन्त्रको एक महत्वपूर्ण सूचक मानिन्छ । नेपाल विगतमा राजनीतिक बन्दी नभएको देशका रूपमा राम्रो उदाहरण मानिन्थ्यो। तर पछिल्ला घटनाक्रमहरूले देशको राजनीतिक अवस्थाप्रति चिन्ता बढाएको छ । बालेन सरकारद्वारा सुधन गुरुङजस्ता अनुभवहीन, अराजक र विवादित व्यक्तिलाई गृहमन्त्री बनाइएको तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरिएको घटनाले देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना गरेको छ । यस्ता गतिविधिले राजनीतिक प्रतिशोध र पूर्वाग्रहको झल्को दिन्छ ।
सरकारी सम्पदा र सम्पत्ति जोगाउन नसक्ने, आफ्नै चौकी सुरक्षित राख्न नसक्ने प्रहरीहरू आज लोकतन्त्र प्राप्तिका लागि लडेका नेताहरूलाई गिरफ्तार गर्न हजारौं संख्यामा खटिएको देख्दा दुःख लाग्छ । प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न, एमालेको तर्फबाट आजदेखि सुरु हुने प्रदर्शनमा सहभागी बनौँ । कार्यक्रमबारे विस्तृत जानकारी केही समयमा दिइने छ ।
