समानुपातिक तर्फका निर्वाचित सांसदलाई बिहीबार प्रमाणपत्र दिइने
नागरिकता र दुईप्रति फोटोसहित विवरण बुझाउन आग्रह
काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदहरूलाई चैत ५ गते बिहीबार प्रमाणपत्र वितरण गर्दै छ । निर्वाचन अधिकृत कृष्णबहादुर राउतका अनुसार बिहीबार बिहान ११ः ३० बजे आयोग परिसरमा कार्यक्रम आयोजना गरी निर्वाचित समानुपातिक सांसदहरूलाई प्रमाणपत्र दिइनेछ ।
प्रमाणपत्र लिन आउँदा उम्मेदवारले सक्कल नागरिकता वा राष्ट्रिय परिचयपत्र र दुई प्रति पासपोर्ट साइजको फोटोसहितको विवरण आजै उपलब्ध गराउन आयोगले आग्रह गरेको छ । आयोगले राजनीतिक दलहरूबाट छनोट भई आएका उम्मेदवारको नामावली सार्वजनिक गर्दै उनीहरू निर्वाचित भएको घोषणा गरिसकेको छ । गत फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६ वटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाएका छन् ।
समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेकपाले ९, श्रम संस्कृति पार्टीले ४ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ सिट प्राप्त गरेका छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्षबाट १६५ र समानुपातिकबाट ११० जना निर्वाचित हुने संवैधानिक व्यवस्था छ । समानुपातिकतर्फका सांसदलाई प्रमाणपत्र वितरण गरेसँगै यसपटकको निर्वाचन प्रक्रियाले पूर्णता पाउने आयोगले जनाएको छ ।
