अबको पाँच वर्षलाई खेर जान दिँदैनौँ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच वर्षलाई स्वर्णिम बनाउने दाबी गरेका छन् ।
सुर्खेतमा बिहीबार कांग्रेसको कर्णाली प्रदेशस्तरीय चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जिताएर मुलुकलाई स्वर्णिम पाँच वर्ष बनाउन सबैलाई आग्रह गरे ।
‘विगत पाँच-छ वर्ष केवल सरकार बनाउने र फेर्ने काममा मात्रै खर्च भयो । यसले तन्नेरीलाई रुष्ट बनायो । देशले गति समात्नु पर्नेमा गठबन्धनको राजनीतिले कहीँ न कहीँ दूषित बनायो । अब ०८२ देखि ०८७ सम्मको पाँच वर्ष हामी आग्रह गरिरहेका छौँ’, उनले भने, ‘यो एउटा मौकालाई नेपालको इतिहासलाई स्वर्णिम बनाउने छौँ भनेर सपना बोकेर आएका छौँ । हामीलाई नेपालको सीमितता थाहा छ । यसलाई सुधार्छौँ । प्रतिज्ञापत्र सार्वजनिक गरेका छौँ । पाँच वर्ष भनेर बस्दैनौँ । वैशाख १ गते आउँछ र एक महिनामा यो काम गर्यौँ भन्छ कांग्रेसले । जेठ १ गते आउँछ र एक महिनामा यी काम गर्यौँ भन्छौँ ।’
उनले पाँच वर्षका योजनाबारे सबै दलसँग सामूहिक टेबलमा बस्न तयार रहेको बताए । तर कोही पनि यसका लागि तयार नभएको भन्दै उनले कोही कसैले कुनै नाटक गर्यो भने कर्णालीले त्यसलाई पत्याउन नहुने बताए ।
