sevenstartv.com १६ असार २०८३, मङ्गलवार

आज इजरायल, मलेसिया, पाकिस्तान र पोर्चुगलमा प्रस्तावित राजदूतहरुको सुनुवाइ हुँदै

१७ भदौ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरुको सुनुवाइ आज पनि जारी राख्ने भएको छ ।

समितिको आजको बैठकमा इजरायल, मलेसिया, पाकिस्तान र पोर्चुगलका लागि प्रस्तावित राजदूतहरुलाई सुनुवाइका लागि बोलाइएको छ ।इजरायलका लागि धनप्रसाद पण्डित, मलेसियाका लागि नेत्रप्रसाद तिमिल्सिना, पाकिस्तानका लागि रीता धिताल र पोर्चुगलका लागि प्रकाशमणि पौडेललाई राजदूत नियुक्त गर्न सरकारले सिफारिस गरेको छ । समितिमा तिमिल्सिना र पण्डितविरुद्ध उजुरी परेको छ ।

समितिका सदस्यहरुले उजुरीहरुमाथि प्रश्न गर्ने र उनीहरुको जवाफ तथा कार्ययोजनामा छलफल गर्ने छन् ।

सरकारले १४ साउनमा १८ देशका लागि राजदूत सिफारिस गरेको थियो । तर अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत कान्ता रिजालबाहेक १७ देशका प्रस्तावित राजदूतहरुको नाम मात्र समितिमा पुगेको थियो । प्राप्त नामावली अनुसार संसदीय सुनुवाइ समितिले आइतबारदेखि सुनुवाइ सुरु गरेको थियो ।

समितिले आइतबार पहिलो दिन चीनका लागि प्रस्तावित राजदूत कृष्णप्रसाद ओली, भारतका लागि शंकर शर्मा, जर्मनीका लागि डा। शैल रूपाखेती र डेनमार्कका लागि प्रस्तावित राजदूत सुम्निमा तुलाधरको सुनुवाइ गरेको थियो । सुनुवाइमा प्रस्तावित राजदूतहरुले आ(आफ्ना कार्ययोजना र प्रतिबद्धता प्रस्तुत गरेका थिए ।

आज सोमबार दोस्रो दिन इजरायल, मलेसिया, पाकिस्तान र पोर्चुगलका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइ भइसकेपछि कतारका लागि प्रस्तावित रमेशचन्द्र पौडेल, रुसका लागि प्रस्तावित जंगबहादुर चौहान, साउदी अरबका लागि प्रस्तावित नरेशविक्रम ढकाल दक्षिण कोरियाका लागि डा। शिवमाया तुम्बाहाम्फेसँग छलफल गर्ने तयारी छ ।

त्यसपछि दक्षिण अफ्रिकाका लागि प्रा।डा। कपिलमान श्रेष्ठ, स्पेनका लागि सनिल नेपाल, श्रीलंकाका लागि रामकृष्ण भट्टराई, बेलायतका लागि चन्द्रकुमार घिमिरे र अमेरिकाका लागि प्रस्तावित लोकदर्शन रेग्मीलाई सुनुवाइमा बोलाउने समितिको तयारी छ ।

प्रस्तावित सबै राजदूतहरुको सुनुवाइ आठ दिनभित्र सम्पन्न गर्ने योजना छ । सुनुवाइ समितिले नाम अनुमोदन गरिसकेपछि राष्ट्रपतिबाट राजदूत नियुक्ति हुने संवैधानिक व्यवस्था छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्