बंगलादेशमा व्यापक हिंसा, केही दलका कार्यालय जलाइयो
काठमाडौं । बंगलादेशमा शेख हसिना विरोधी नेता उस्मान हादीको मृत्युपछि हिंसा भड्किएको छ । प्रदर्शनकारीहरूले बिहीबार राति देशको सबैभन्दा ठूलो अखबार डेली स्टार र प्रथम आलोको कार्यालयमा जबर्जस्ती प्रवेश गरेर तोडफोड र आगजनी गरेका छन् ।
यसबाहेक पूर्व राष्ट्रपति शेख मुजिबुर रहमानको निवासमा पनि तोडफोड गरिएको छ । शेख हसिनाको पार्टी अवामी लिगको कार्यालय पनि प्रदर्शनकारीले जलाएका छन् । उस्मान हादी शेख हसिनाविरुद्ध जुलाई २०२४ मा भएको विद्यार्थी आन्दोलनका प्रमुख नेताहरूमध्ये एक थिए। उनलाई १२ डिसेम्बरमा चुनाव प्रचारका क्रममा टाउकोमा गोली हानिएको थियो ।
त्यसपछि उनलाई राम्रो उपचारका लागि सिंगापुर लगिएको थियो। ६ दिनपछि उनको मृत्यु भएको थियो। बीबीसी बंग्लाका अनुसार धर्मको अपमान गरेको आरोपमा एक हिन्दू युवकलाई कुटेर मारिएको छ। त्यसपछि उनको शवलाई नग्न बनाएर रूखमा झुण्ड्याई आगो लगाइएको छ। प्रहरीले मृतकको पहिचान दीपू चन्द्र दासको रूपमा गरेको छ । प्रहरीका अनुसार यो घटना बिहीबार राति भालुकामा भएको थियो। सामाजिक सञ्जालमा यसको भिडियो भाइरल भइरहेको छ जसमा मानिसहरू ‘अल्लाहु अकबर’ को नारा लगाउँदै देखिएका छन् । सूचना पाएलगत्तै प्रहरी घटनास्थलमा पुगे र स्थितिलाई नियन्त्रणमा लिएका थिए ।
अधिकारीहरूले मृतक दासको शव बरामद गरेर मैमनसिंह मेडिकल कलेज अस्पतालको शवगृमा पठाइएको छ। यो घटनामा अझैसम्म मुद्दा दर्ता भएको छैन ।बंगलादेशको खुलनामा इमदादुल हक मिलन नामक पत्रकारलाई गोली हानेर हत्या गरिएको छ। प्रहरीका अनुसार यो घटनामा अर्को व्यक्ति घाइते भएका छन् । उनलाई अस्पतालमा भर्ना गरिएको छ । अरंगघाटा प्रहरी स्टेशनका प्रभारी अधिकारी ९ओसी० शाहजहाँ अहमदले पत्रकारहरूलाई बताए अनुसार यो घटना बिहीबार राति करिब ९:३० बजे भएको थियो ।
मिलन शालुआ प्रेस क्लबका अध्यक्ष थिए। हमलाको समयमा मिलन शालुआ बजारको एक चिया पसलमा बसेर चिया पिइरहेका थिए। त्यतिबेला दुई मोटरसाइकलमा चारजनाले उनीमाथि गोली चलाएर भागे । घटनापछि आसपासका मानिसहरूले उनलाई मेडिकल कलेज अस्पताल लगे, जहाँ डाक्टरले मिलनलाई मृत घोषित गरे। प्रहरीले अझैसम्म आक्रमणकारीको पहिचान गर्न सकेका छैनन्।

.gif)