लगातारको वर्षाले गाजाका बासिन्दाको अवस्था कष्टकर बन्दै
बालबालिकालाई हाइपोथर्मिया तथा अन्य रोग लाग्ने उच्च जोखिम रहेको राष्ट्रसंघको चेतावनी
काठमाडाैं । गाजापट्टीमा पछिल्लो एक हप्तादेखि भइरहेको ठूलो वर्षाले विस्थापित प्यालेस्टिनीहरूको जीवन झन् कष्टकर बनेको छ । राष्ट्रसंघका अनुसार विशेषगरी बालबालिकाहरु त्यसबाट धेरै प्रभावित भएका छन् । गाजामा रातिको मौसम अत्यन्तै कष्टकर बनेको छ ।
वर्षाका कारण १० देखि १५ सेन्टिमिटरसम्म पानी जमेको छ । चिसो र भिजेको अवस्थामा टेन्ट र अस्थायी आश्रयमा बसिरहेका बालबालिकालाई हाइपोथर्मिया तथा अन्य रोग लाग्ने उच्च जोखिम रहेको राष्ट्रसंघले चेतावनी दिएको छ । हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार चिसोका कारण अहिलेसम्म केही नवजात शिशुको ज्यान गएको छ भने वर्षाका कारण कमजोर बनेका घर भत्किँदा चार बालबालिकासहित १७ जनाको ज्यान गइसकेको बीबीसीले जनाएको छ ।
राष्ट्रसंघका अनुसार झन्डै ५५ हजार परिवार वर्षाबाट प्रभावित भएका छन् । गएको सोमवार र मंगलवारको अत्यधिक वर्षापछि ४० भन्दा धेरै आपतकालीन आश्रयस्थल डुबानमा परेका थिए, जसका कारण धेरै परिवार विस्थापित हुन बाध्य भए । युनिसेफका अनुसार गाजामा झन्डै १० लाख मानिस टेन्ट र अस्थायी संरचनामा बसिरहेका छन् । रातको तापक्रम ७–८ डिग्री सेल्सियससम्म झर्ने गरेकाले बालबालिकाको स्वास्थ्यप्रति गहिरो चिन्ता व्यक्त गरिएको छ ।
युद्धविरामपछि युनिसेफले २ लाख ५० हजार जाडोका लुगा, विभिन्न किट, ६ लाख कम्बल र ७ हजार टेन्ट पठाएको भए पनि यो पर्याप्त नरहेको खबरमा उल्लेख छ । रेडक्रसले पनि क्षतिग्रस्त भवनहरू भत्किनु गम्भीर चिन्ताको विषय भएको भन्दै खाद्य, आश्रयस्थल र पूर्वाधार मर्मतका लागि दीर्घकालीन मानवीय सहयोग आवश्यक रहेको जनाएको छ ।
इजरायली सैन्य निकायले भने सहायता रोकिएको भन्ने आरोप अस्वीकार गर्दै दैनिक ६ सय देखि ८ सय सहायता बोकेको ट्रक गाजामा प्रवेश गरिरहेको दाबी गरेको छ । तर राष्ट्रसंघले प्राप्त सहयोग अझै अपुग रहेको जनाएको छ ।

.gif)