sevenstartv.com २४ मंसिर २०८२, बुधवार

धान खरिद र मल अनुदानको कोटा बढाइिदन अर्थमन्त्रीसँग सुदूरपश्चिम सरकारको माग

२४ मंसिर २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले गहुँ बालीका लागि आवश्यक रासायनिक मल र धानको सहज खरिदका लागि कोटा बढाउन पहल गरेको छ । 

गहुँ बाली लगाउने बेला मलको अभाव भइरहेको र धान खरिदका लागि सीमित कोटा रहेकाले समस्या भोग्नुपरेको किसानबाट निरन्तर गुनासो आएकाले यो समस्या समाधानका लागि पहल थालिएको प्रदेश सरकारले जनाएको छ । 

किसानको मागअनुसार सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत् न्यूनतम समर्थन मूल्यमा धान खरिदको सहजताका लागि प्रयास गरिएको मुख्यमन्त्री कमलबहादुर शाहको सचिवालयले जनाएको छ । अर्थमन्त्रीसमक्ष थप ५० हजार क्विन्टल धान खरिद र अनुदानको मलको कोटा बढाइदिन आग्रह गरेकोमा सक्दो प्रयास गर्ने आश्वासन पाएको बताइएको छ । 

सुदूरपश्चिम प्रदेशका लागि १३ प्रतिशत रासायनिक मलको कोटा हुनुपर्नेमा अहिले ६ प्रतिशत मात्र आपूर्ति हुन सकेकाले मलको अभाव छ ।  किसानले गहुँ बालीका लागि प्रयोग गर्नुपर्ने युरिया मलको अभाव भइरहेको गुनासो गरिरहेका छन् । त्यस्तै धान खरिदमा व्यापार कम्पनी प्रादेशिक कार्यालय धनगढीले गएको वर्ष ५५ हजार क्विन्टल कोटा पाएकोमा यस वर्ष ३५ हजार क्विन्टलको मात्र कोटा पाएको छ । कोटा घट्दा किसानले सरकारले तोकेको मूल्यमा धान बिक्री गर्न पाइरहेका छैनन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्