sevenstartv.com २२ मंसिर २०८२, सोमवार

एनपीएल क्रिकेटमा लिग चरणका खेल सम्पन्न,प्लेअफमा भोलि सुदूरपश्चिम र विराटनगरबीच पहिलो क्वालिफायर खेल हुने

२२ मंसिर २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता अन्तर्गत लिग चरणका सबै खेलहरु सकिएका छन् । हिजो त्रिवि क्रिकेट रंगशालामा लिग चरणको अन्तिम खेलमा अघिल्लो संस्करणको बिजेता जनकपुर बोल्ट्समाथि कर्णाली याक्सले ३ रनको रोचक जित निकालेको छ ।

अन्तिम खेलमा जित निकालेसँगै ७ खेलबाट ४ अंक जोडेर कर्णाली छैटौं स्थानमा छ । साविक विजेता जनकपुर भने २ अंकसहित पुछार अर्थात् आठौं स्थानमा पुग्यो । जनकपुरले एक खेलमा मात्र जित निकाल्न सक्यो । अंक तालिकामा सुदूरपश्चिम रोयल्स ७ खेलबाट ६ जित निकाल्दै १२ अंक जोडेर शीर्ष बन्यो ।

दोस्रो स्थानको विराटनगर किंग्स र तेस्रो स्थानको काठमान्डु गोर्खाजले ५–५ जीत निकाल्दै १० अंक जोडे । रनरेटमा भने विराटनगर अघि रह्यो । चौथो बनेको लुम्बिनीले ४ खेलमा जित र ३ खेलमा हार बेहोर्दै ८ अंक जोडेको छ । यी चार टोली प्लेअफमा पुगेका छन् । 

अंक तालिकामा पोखरा एभेन्जर्स पाँचौ भएको छ । चितवन राइनोज पनि ४ अंकसहित सातौं स्थानमा छन् । एनपीएलमा आज भने कुनै पनि खेल छैन । प्लेअफमा भोलि सुदूरपश्चिम र विराटनगरबीच पहिलो क्वालिफायर खेल हुनेछ । यो खेलको विजेता फाइनल पुग्नेछ ।

पराजित हुने टोलीले आउँदो बिहीबार हुने दोस्रो क्वालिफायरमा मौका पाउनेछ । बुधबार काठमान्डु र लुम्बिनीबीच इलिमिनेटरको खेल हुनेछ । जित हात पार्ने टोली दोस्रो क्वालिफायरमा पुग्नेछ भने पराजित हुने टोली बाहिरिनेछ । दोस्रो क्वालिफायरको विजेता पनि आउँदो २७ गते शनिबार हुने फाइनलमा पुग्नेछ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्