पूर्वमन्त्री खड्काले बनाएको संरचनामा महानगरको डोजर
काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता दीपक खड्काले बनाएको संरचनामा डोजर चलाएको छ । नेता खड्काले लैनचौरस्थित नेपाल स्काउटको जग्गामा बनाएको संरचनामा महानगरपालिकाले बिहीबार बिहान डोजर लगाएको हो ।
उक्त जग्गा पूर्वऊर्जामन्त्री खड्काको कम्पनी खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिले भाडा दिने सर्तमा उपभोग गरिरहेको थियो । तर भाडा नतिरेपछि स्काउटले यही कात्तिक २० गते सूचना जारी गरी भाडा चुक्ता गर्न ७ दिनको म्याद दिएको थियो ।
उक्त म्याद सकिएपछि बिहीबार स्काउट जग्गा महानगरपालिकाको सहयोगमा युवा तथा खेलकुद मन्त्रालयले खाली गराएको खेलकुदमन्त्री मन्त्री बब्लु गुप्ताको सचिवालयले जानकारी दिएको छ ।
लैनचौरस्थित कित्ता नम्बर १० को खानी विभागसँग जोडिएको ३ रोपनी रैकर जग्गा भोग चलन गर्न नेपाल स्काउट र खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिबीच २०६५ मा सम्झौता भएको थियो । १० वर्षे करार सम्झौता २०७५ सालमै सकिए पनि कम्पनीले जग्गा छाडेको थिएन ।

.gif)