sevenstartv.com २२ मंसिर २०८२, सोमवार

भैरहवा मेडिकल कलेजका नर्सहरु आन्दोलित

५ कार्तिक २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (भैरहवा मेडिकल कलेज) मा कार्यरत नर्सिङ स्टाफहरूले आज पनि आन्दोलन जारी राखेका छन् । आइतबार आन्दोलनमा उत्रिएका उनीहरुले आन्दोलनलाई निरन्तरता दिएका हुन् ।

मेडिकल कलेजमा कार्यरत नर्सिङ कर्मचारीहरूले कलेज परिसरमा प्लेकार्डसहित धर्ना र नाराबाजी  गरेका छन् । नेपाल सरकारले तोके अनुसारको तलब सुविधा दिनुपर्ने, अतिरिक्त कामको थप भत्ताको व्यवस्था गर्नुपर्ने, करार नियुक्ति सम्झौता गरेर मात्र सेवामा लगाउनुपर्ने, ज्यालादारीमा काममा लगाउन नपाइने, अनुभवको पत्र उपलब्ध गराउनुपर्ने, नर्सिङ तथा अन्य स्वास्थ्यकर्मीहरूको पारिश्रमिक बैङ्किङ प्रणालीबाट मात्र उपलब्ध गराउनुपर्ने लगायतका मागहरू राख्दै उनीहरुले शुक्रबार मेडिकल कलेज प्रशासनलाई ज्ञापन पत्र बुझाएका थिए । त्यसलगत्तै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

सरकारले असङ्गठित र अदक्ष श्रमिकहरूका लागि न्यूनतम १९ हजार पाँच सय ५० रुपैयाँ पारिश्रमिक तोके पनि  अस्पतालले आफूहरूलाई अदक्ष कामदारको भन्दा न्यून तलब दिएर काममा लगाएको गुनासो उनीहरुले गरे । स्वास्थ्य मन्त्रालयले २०८१ साल मङ्सिर २७ गते निजी अस्पतालमा कार्यरत नर्सिङ तथा स्वास्थ्यकर्मीहरूलाई पनि सरकारी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी बराबर तलब भत्ता उपलब्ध गराउन भन्दै निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई पत्राचार गरोको थियो । 

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्