sevenstartv.com २२ मंसिर २०८२, सोमवार

प्रधानमन्त्रीले ७ राजनीतिक दलहरुसँग छलफल गर्दै

४ कार्तिक २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सात राजनीतिक दलसँग फागुन २१ गते तय गरिएको निर्वाचन सम्बन्धमा छलफल गर्नै भएकी छन् । फागुन २१ को निर्वाचन गराउने मुख्य कार्यभारसहित बनेको वर्तमान सरकारले राजनीतिक संवादको पहल गर्दै राष्ट्रिय मान्यता प्राप्त दलहरूलाई औपचारिक छलफलका लागि आमन्त्रण गरेको हो । 

छलफल आज साँझ ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने कार्कीका प्रेस संयोजक राम रावलले जानकारी दिए। सरकारले निर्वाचनको वातावरण नबनाएको भन्दै दलहरू रूष्ट थिए । सरकारले दलहरूसँगको संवादहिनता तोड्दै छलफलमा बोलाएको हो ।  सरकारले निर्वाचनको वातावरण निर्माणका लागि दलहरूलाई पत्राचार नै गरेपछि संसद् पुनर्स्थापनालाई बटमलाइन बनाएको दल नेकपा एमालेसमेत छलफलमा सहभागी हुने भएको छ । 

एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार चुनाव गराउनेतर्फ अग्रसर नै नभएको आरोप लगाएका बेला दलहरूलाई सरकारले औपचारिक रूपमै संवादका लागि बोलाएको हो । नेकपा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले एमाले छलफलबाट पछि नहट्ने र सहभागी हुने बताए । उपाध्यक्ष युवराज ज्ञवालीले अध्यक्षले खटाएको व्यक्ति छलफलमा सहभागी हुने र आफ्नो कुरा राख्ने बताए । 

एमालेका तर्फबाट महासचिव शंकर पोखरेलको नेतृत्वमा  छलफलमा सहभागी हुने जनाएको छ । सरकारले प्रत्येक दललाई दुई जना उच्चस्तरीय प्रतिनिधि पठाउन अनुरोध गर्दै पत्राचार गरेको छ। दलहरूले सरकारले पठाएको पत्र प्राप्त गरिसकेका छन् । नेपाली कांग्रेसले त्यसलाई सरकारको कदमलाई स्वागतयोग्य भन्दै महामन्त्री गगन थापासहित छलफलमा जाने बताएको छ । महामन्त्री थापाले सरकारले बोलाएको छलफलमा कांग्रेस सहभागी हुने बताए। छलफलमा शान्ति सुरक्षाको विषयलाई महत्वका साथ उठाउने थापाको भनाइ छ ।

सरकार चुनाव उन्मुख नरहेको बताइरहेको नेकपा माओवादी केन्द्र पनि चुनावमा जान तयार छ । दलहरू बेगर चुनाव हुन नसक्ने ठहरसहित सरकारले संवादको पहल गरेकोमा सकारात्मक प्रतिक्रिया दिएको छ । सरकारका गतिविधिमा आशंका रहे पनि छलफलमा सहभागी हुने नेता देव गुरूङले बताए । रास्वपाले सरकारले ढिलै भए पनि संवाद सुरू गरेको भन्दै पार्टी उपसभापति स्वर्णीम वाग्ले छलफलमा सहभागी हुने बताएको छ । 

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीबाट दुईजना सहभागी हुने बताए ।  त्यस्तै जसपा नेपालका प्रवक्ता मनिष सुमनले पनि आफ्नो दल सहभागी हुने बताए। जनमतका अध्यक्ष सीके राउतले भने महासचिव चन्दन सिंह सहभागी हुने जानकारी दिए ।  सरकारको तर्फबाट राष्ट्रपतिको माध्यममार्फत दलहरूको धारणा बुझ्ने प्रारम्भिक प्रयास भए पनि प्रत्यक्ष संवाद भने ढिलै सुरू भएको छ । सरकारले निर्वाचनको वातावरण नबनाएको भन्दै प्रमुख दलहरू असन्तुष्ट छन्। जसले गर्दा तोकिएकै मितिमा निर्वाचन हुन्छ कि हुँदैन भन्ने अन्योल छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्