तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलगायतलाई कारबाही गर्न माग
काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतलाई कारबाही गर्न माग गरेको छ । जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिको छानबिन गरी जिम्मेवार नेताहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने बताइएको छ ।
४४औँ अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा आइतबार एक विज्ञप्ति जारी गर्दै समाजले सुशासनलाई शान्तिको पूर्वशर्तका रूपमा कार्यान्वयन गर्न आग्रह गरेको छ । जारी विज्ञप्तिमा भ्रष्टाचार, कुशासन र राजनीतिक नेतृत्वको दण्डहीनतालाई मूल कारण ठहर गर्दै सुधारका लागि ठोस कदम चाल्न सरकार र सबै राजनीतिक दललाई आह्वान गरिएको छ ।
समाजले आन्दोलनपश्चात् भएको आगजनी, तोडफोड र लुटपाटका घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिएको छ । त्यस्तै, पूर्वविशिष्ट व्यक्तिहरूलाई राज्यको ढुकुटीबाट दिइँदै आएका सेवा–सुविधा कटौती गर्न, ध्वस्त संरचनाको पुनर्निर्माणका लागि विशेष मन्त्रालय गठन गरी आगामी दशकलाई ‘पुनर्निर्माण दशक’ घोषणा गर्नुपर्ने सुझावसमेत समाजले दिएको छ ।

.gif)