काठमाडौं । देशमा बढ्दै भएको बेथिती, भ्रष्टाचार र सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा जेन-जी पुस्ताले आज काठमाडौंमा प्रदर्शन गर्दैछन् ।
बिहान ११ बजेदेखि माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गर्ने भएका हुन् । उनीहरूले एक विज्ञप्ति जारी गर्दै आफ्नो आन्दोलन शान्तिपूर्ण हुने बताएका छन् । भ्रष्टहरूलाई जवाफदेही बनाउन, सरकारमा पारदर्शिता सुनिश्चित गर्न र प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने आफूहरुको प्रदर्शनको उद्देश्य रहेको विज्ञप्तीमा उल्लेख गरेको छ ।
जेन-जीले प्रदर्शनमा सहभागी हुने सबैलाई हिंसा, तोडफोड वा अव्यवस्था नगर्न आग्रह गरेको छ । आफ्नो शक्ति एकता, सृजनशीलता र सत्यमा रहेको उल्लेख गरिएको छ । यस्तै उनिहरुले राजनीतिक दल र नेताहरूलाई यो प्रदर्शनलाई आफ्नो स्वार्थका लागि प्रयोग नगर्न भनेका छन् । यो आन्दोलन कुनै राजनीतिक लाभका लागि नभई नेपालको भविष्यका लागि भएको स्पष्ट पारेका छन् । आन्दोलनमाथि हिंसा वा अवैध बल प्रयोग गरिएमा त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने पनि उनीहरूले चेतावनी दिएका छन् ।
जेन-जीको प्रदर्शनलाई राजनीति दलका नेता, कलाकार लगायतले समर्थन जनाएका छन्। रास्वपाका सभापति रवि लामिछानेले नख्खुजेलबाटै समर्थनको सन्देश जारी गरेका छन्। नेपाली कांग्रेसका नेताहरु शेखर कोइराला र गगन थापाले जेन्जीको प्रदर्शनमा समर्थन जनाएका छन्। काठमाडौं महानगरका मेयर बालेन साह र कुलमान घिसिङले पनि ऐक्यवद्धता जनाएका छन् ।
यसैबिच जेन-जीको प्रदर्शनलाई लिएर काठमाडौंको सुरक्षा ब्यवस्था कडा पारिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले हिजो जिल्ला सुरक्षा समितिको बैठक बसेर सुरक्षा व्यवस्था कडा पार्ने निर्णय गरेको थियो ।

.gif)