एमालेको विधान महाधिवेशन आज सकिँदै
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन आज सकिँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा दुईदिनदेखि जारी महाधिवेशन आज सकिन लागेको हो ।
महाधिवेशनमा प्रस्तुत दस्ताबेजमाथि १० वटा समूहबिचको विमर्श सकिएको छ। विमर्शका लागि प्रदेश, उपत्यका र केन्द्रीय संरचनालाई आधार बनाउँदै १० वटा समूह बनाइएको थियो। कोशी, सुदूरपश्चिम, मधेश, कर्णाली, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा आधारित प्रतिनिधिले छुट्टाछुट्टै समूहमा विमर्श भइसकेपछि प्रतिवेदन लेख्न सुरु गरिएको छ। प्रतिवेदन आइतबार प्रत्येक समूहका टोलीनेताले महाधिवेशन हलमा प्रस्तुत गर्ने छन् ।
शनिबार दिनभर छलफल विमर्शपछि त्यसको निष्कर्ष निकालेर प्रतिवेदन लेखन कार्य सुुरु भएको एमाले बागमती प्रदेश कमिटीका उपसचिव भक्तकुमारी लामाले जानकारी दिइन् । सहभागी प्रतिनिधिले दिएको सुझावका आधारमा १० वटा नै समूहले आफ्नो प्रतिवेदन लेख्न थालेको लामाले बताइन् । एमाले केन्द्रीय प्रचार विभाग प्रमुख गौतमले शनिबार सबै समूहले छलफल विमर्श सकेर आइतबार प्रतिनिधिको सुझावसहितको प्रतिवेदन समूहगत नेताले हलमा प्रस्तुत गर्ने उल्लेख गरे ।
समूहगत रूपमा आएका प्रतिवेदनमा समेटिएका सुझाव, जिज्ञासाको अध्यक्ष ओलीले जवाफ दिने र कुनै विषयमा सहमति हुन नसकेमा मतदानबाट टुङ्गो लगाउने तयारी भएको गौतमले जानकारी दिए । सकेसम्म सबैलाई सुझाव समेटेर एकीकृत रूपमा पार्टी विधान तयार गरिने बताउँदै गौतमले प्रस्ताव पारित गरेर एमालेको दोस्रो विधान महाधिवेशन आइतबार सक्ने तयारी भइरहेको उनले स्पष्ट पारे ।
अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधनसहितको प्रतिवेदनसँगै विभिन्न परिषद्का प्रतिवेदनमाथि १० समूहले छलफल विमर्श गरेका थिए । महाधिवेशनमा शनिबार भएको विमर्श र आइतबार हुने समूहगत विमर्शलाई एमाले नेतृत्वले विशेष महत्वका साथ हेरेको छ। राजनीतिक प्रतिवेदनमार्फत प्रस्तुत गरिएका विषय मुलुकको वर्तमान राजनीतिक परिदृश्य, सङ्घीयता, आर्थिक अवस्था र सरकार सञ्चालनका सवालमा विस्तृत बहस भएको र त्यो समूहको नेतामार्फत सार्वजनिक हुने नेकपा (एमाले) काभ्रेपलाञ्चोकका अध्यक्ष राजन भुर्तेलले जानकारी दिए ।
त्यस्तै साङ्गठनिक प्रतिवेदनले पार्टीभित्रको सदस्यता विस्तार, सङ्गठनात्मक संरचना, कमिटी गठन, प्रशिक्षण र आन्तरिक अनुशासनबारे छलफललाई केन्द्रमा राख्ने छ । विधान संशोधन प्रस्तावबारे पनि छलफल गरी निष्कर्ष निकालिने छ। एमालेको विधान महाधिवेशनले आन्तरिक बहसमार्फत सङ्गठनलाई थप सुदृढ बनाउने मात्र नभई आगामी निर्वाचन र मुलुकको राजनीतिक यात्रामा निर्णायक भूमिका खेल्ने आधार तय गर्ने बताइएको छ ।
उत्कृष्ट सुझाव बनाउन समूहका नेता सक्रिय बनेर प्रतिवेदन लेखनमा क्रियाशील बनेको प्रचार विभागका प्रमुख गौतमले बताए । नेपाली विशेषताको समाजवाद सोभियत मोडेलभन्दा फरक तर नेपाली विशेषताको समाजवाद ल्याउनका लागि एमालेको विधान महाधिवेशनमा छलफल भएको छ । दोस्रो विधान महाधिवेशनमा प्रस्तुत नेपाली विशेषताको समाजवाद शीर्षकको दस्ताबेजमा अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट पार्टी र उसको नेतृत्वमा ल्याइने समाजवादको स्पष्ट रूपमा व्याख्या गरेका छन् ।
अध्यक्ष ओलीले कम्युनिस्ट पार्टी नेपालको विशेषतामा कस्तो हुन्छ भन्ने पनि उल्लेख गरेका छन् । दस्ताबेजमा ओलीले बहुलता र विविधतालाई समाजवादी राज्य प्रणालीमा सामञ्जस्यका साथ अगाडि बढाइने र एकरूपतामा एकता होइन, विविधतामा एकतालाई प्रवर्धन गरिने भनेका छन् । दस्ताबेजमा कम्युनिस्ट पार्टीबारे उहाँले उल्लेख गरेका छन् ।

.gif)