उखु किसानको अनुदान घटाउने निर्णय खारेज गर्न माग
काठमाडौं । उखु किसानको अनुदान घटाउने निर्णय तत्काल खारेज गर्न सरकारसँग राष्ट्रियसभाका सांसदहरूले माग गरेका छन् । शुक्रबार राष्ट्रियसभा बैठकमा उनीहरुले सो अनुदान पुरानै कायम गरेर तत्काल किसानलाई उपलब्ध गराउन पनि सरकारलाई सचेत गराएका हुन् ।
नेकपा (माओवादी केन्द्र)की सांसद गंगाकुमारी बेल्बासेले उखुमा दिँदै आएको अनुदान सरकारले घटाउने निर्णय गरेको आपत्ति जनाउँदै पुरानै अनुदान उपलब्ध गराउन सरकारलाई दबाब दिइन् । उनले उखु किसानलाई मारमा पार्ने काम नगर्न पनि सरकारलाई ध्यानाकर्षण गराइन् ।
एमालेका सांसद गोपाल भट्टराई बाढी पहिरोका कारण ठप्प रहेको रसुवागढी नाका र तातोपानी भन्सार तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गरे । उनले मुस्ताङमा रहेको कोरोला नाकालाई वैकल्पिक नाकाको रुपमा सञ्चालनमा ल्याउन पनि ढिलाइ नगर्न सरकारलाई दबाब दिए ।
सांसदहरूले बाढी र पहिरोले धेरै जनधनको क्षति भएकाले पीडितलाई राहत दिने काममा पनि सरकारले तीव्रता दिनुपर्ने बताएका छन् ।

.gif)