नेपालबाट एक वर्षमा साढे १७ अर्ब रुपैयाँको बिजुली निर्यात
काठमाडौ । एक वर्षमै साढे १७ अर्ब रुपैयाँको बिजुली निर्यात गरेर नेपाल विद्युत व्यापारमा इतिहास रच्न सफल भएको छ ।
नेपालले गएको आर्थिक वर्षमा छिमेकी मुलुक भारत र बंगलादेशमा १७ अर्ब ४६ करोड रुपैयाँ बराबरको बिजुली निर्यात गरेको छ । बिजुली निर्यातको यो उपलब्धि ऊर्जा कूटनीति र आर्थिक समृद्धितर्फको यात्रामा कोशेढुङ्गा सावित भएको छ ।
सरकारले वैदेशिक बजारमा विद्युत निर्यात बढाउने रणनीतिमा उल्लेखनीय सफलता हासिल गरेको छ । गत आर्थिक वर्ष २०८१.०८२ मा नेपालले भारत र बंगलादेशमा गरी साढे १७ अर्ब रुपैयाँभन्दा बढीको विद्युत निर्यात गर्न सफल भएको हो । नेपाल विद्युत प्राधिकरणले आव २०८१,०८२ को अवधिमा भारतमा करिब १७ अर्ब १९ करोड रुपैयाँ र बंगलादेशमा २६ करोड ६७ लाख रुपैयाँ बराबरको विद्युत बिक्री गरेको हो । निर्यातको कुल रकम १७ अर्ब ४६ करोड रुपैयाँ नाघेको देखिन्छ । विद्युत व्यापारमा नेपाललाई प्राप्त भएको यो उपलब्धिले ऊर्जा कूटनीति र आर्थिक समृद्धितर्फको यात्रामा महत्वपूर्ण कोशेढुङ्गा सावित भएको उर्जा मन्त्री दिपक खड्काले बताएका छन् । गत वर्ष भारतबाट करिब १२ अर्ब ९२ करोड रुपैयाँ बराबरको विद्यु आयात गरिएको भएपनि आयातको परिमाण क्रमशः घट्दै गएको छ । यसले नेपाललाई ‘खुद आयातकर्ता’ बाट ‘खुद निर्यातकर्ता बनेको छ ।
विद्युत निर्यातको यो सञ्जाल केवल भारतमा सीमित छैन । बंगलादेशसँग भएको त्रिपक्षीय सम्झौता अनुसार नेपालले ४० मेगावाट विद्युत निर्यात गर्दै आएको छ । जुन आगामी दिनमा अझै विस्तार हुने सम्भावना छ । बंगलादेशलाई प्रतियुनिट ६.४० अमेरिकी सेन्टमा बिजुली बिक्री हुँदै आएको छ । वर्षायाममा पानीको बहाव बढ्ने र उत्पादन बढ्ने समयलाई लक्षित गर्दै प्रतिस्पर्धी मूल्यमा भारतीय ऊर्जा बजारमा (डे अहेड र रियल टाइम मार्केट) निर्यात गर्न थालिएको प्रणालीले ठूलो लाभ दिइरहेको छ ।
नेपालले अहिले भारतको विभिन्न राज्यहरूमा दैनिक ७ सय मेगावाटभन्दा बढी विद्युत निर्यात गरिरहेको छ । ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइन तथा भारत–बंगलादेश सीमामा रहेको बेहरामपुर–भेडामारा लाइनमार्फत नेपाली विद्युत बंगलादेशसम्म पुगेको हो ।

.gif)