फिफा वरीयतामा नेपालको सुधार, ८७ औं स्थानमा
काठमाडौ । नेपाली राष्ट्रिय महिला टोलीले फिफा वरीयतामा एकैपल्ट १३ स्थान सुधार गरेको छ ।
फिफाले बिहीबार सार्वजनिक गरेको वरीयतामा नेपाल ८७ औं स्थानमा पुगेको छ । नेपाल यसअघि एक सयऔं स्थानमा थियो । यो नेपाली महिला टोलीले हासिल गरेको हालसम्मकै उच्च वरीयता हो ।
यसअघि नेपाल ९१ औं स्थानसम्म पुगेको कीर्तिमान थियो । नेपालले गत जुलाईमा उज्बेकिस्तानमा एएफसी महिला एसियन कप छनोट खेलेको थियो । त्यो खेलमा नेपालले त्यतिखेर वरीयतामा १ सय ७ औं स्थानमा रहेको लाओसलाई ९–० र १ सय ५९ औं स्थानको श्रीलंकाविरुद्ध ८–० को एकतर्फी जित हासिल गरेको थियो । निर्णायक खेलको निर्धारित समयमा वरीयतामा आफूभन्दा ४९ औं स्थान माथि रहेको उज्बेकिस्तानलाई ३–३ को बराबरीमा रोकेको थियो । तर, समान अंक र गोलअन्तर भएपछि अस्ट्रेलिया जाने टोलीको टुंगो पेनाल्टी सुटआउटमार्फत गरिएको थियो । तर, नेपाल ४–२ ले पराजित भयो। नेपालसँग खेलेको उज्बेकिस्तानको वरीयता एक स्थान तल खस्किएको छ ।
लाओस ६ स्थान तल खस्किँदै १ सय १३ औं स्थानमा पुगेको छ । श्रीलंका भने १ सय ६१ औं स्थानमा छ । त्यो टोलीले दुई स्थान गुमाएको छ ।

.gif)