काभा महिला भलिबलमा आज नेपाल र माल्दिभ्स भिड्दै
काठमाडौं । काभा वुमन्स नेसन्स भलिबल लिगको अन्तिम खेलमा सोमबार घरेलु टोली नेपाल र माल्दिभ्स भिड्दै छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने खेल दिउँसो सवा ३ बजे सुरु हुनेछ । दुवै टोलीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । जारी लिगमा नेपाल उत्कृष्ट लयमा थियो ।
नेपालले पहिलो खेलमा उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिएको श्रीलंकालाई ३-० को सोझो सेटमा निराश पारेको थियो । दोस्रो खेलमा उपाधिको दाबेदार भारतमाथि ३-२ को रोमाञ्चक जित हासिल गर्दै नेपालले सेमिफाइनल स्थान सुरक्षित गरेको थियो ।
तर, आइतबार भएको तेस्रो खेलमा भने नेपालले अपेक्षा गरे अनुसार प्रदर्शन गर्न सकेन र इरानलाई ३-२ ले नतिजा सुम्पियो । योसँगै नेपालको शीर्ष स्थानमा रहेर सेमिफाइनल खेल्ने सम्भावना लगभग समाप्त भएको छ ।
सात अंकसहित भारत शीर्ष स्थानमा छ । समान अंकसहित इरान दोस्रो स्थानमा छ । यद्यपि, भारतले एक खेल कम खेलेको छ । भारतले लिग चरणको अन्तिम खेल सोमबार नै श्रीलंकासँग खेल्नेछ । श्रीलंकालाई पराजित गरे भारतले फाइनल प्रवेशका लागि सेमिफाइन यही टोलीसँग खेल्ने लगभग पक्का हुनेछ ।
लिगको शीर्ष स्थानमा रहने र चौथो हुने टोली तथा दोस्रो स्थानको र तेस्रो स्थानको टोलीबीच सेमिफाइनलमा प्रतिस्पर्धा हुनेछ । श्रीलंका तीन अंकसहित चौथो स्थानमा छ । ६ अंक जोडेको नेपाल तेस्रो स्थानमा छ ।

.gif)