०८३ मंसिर अघि नै पार्टीको महाधिवेशन हुन्छ : महामन्त्री थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०८३ मंसिर अघि नै पार्टीको महाधिवेशन हुने दाबी गरेका छन् ।
कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति-६ प्रदेश ‘क’ काठमाडौंको सम्मेलन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले ०८४ को निर्वाचनपछि पुग्ने हो कि भन्ने भ्रमबाट मुक्त हुन आग्रह गरेका हुन् ।
महामन्त्री थापाले महाधिवेशन सार्न कांग्रेस पार्टीले आफूले चाहेर मात्रै नहुने भन्दै अदालती समस्या हुने बताए । कांग्रेसको महाधिवेशनको अन्तिम मिति ०८३ को मङ्सिर रहेको र त्यहाँसम्म पुर्याउन नहुने उनले स्पष्ट पारे ।
ढिलाइ भए त्यसले स्थानीय निर्वाचनलाई प्रभावित पार्ने थापाको बुझाइ छ। जति सक्दो क्रियाशील सदस्यको काम सकिन्छ महाधिवेशन गर्न त्यति नै सहज हुने जिकिर उनले गरे ।
महामन्त्री थापाले भातृसंस्थाहरूको अधिवेशन हुन नसक्नु दुखद रहेको बताए । नेविसंघ, तरुण दल, महिला संघलाई अधिवेशन गर्छु मात्रै भने पार्टीको पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि उनले जनाए ।






