चिकित्सा शिक्षा आयोगको बैठक बस्दै
काठमाडौं । चिकित्सा शिक्षा आयोगको १९ औँ बैठक आज बस्ने भएको छ ।
बैठक आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहान ११ बजे सिंहदरबारमा बस्न लागेको हो । चिकित्सा शिक्षा तर्फ पोष्ट ग्राजुएट्स (पीजी) अध्ययनरत चिकित्सकलाई निजी मेडिकल कलेजले सरकारी सरह निर्वाह भत्ता नदिएको भन्दै आन्दोलन चर्किरहेको छ ।
आन्दोलनरत चिकित्सकका मागबारे आयोगको बैठकमा छलफल हुने जनाइएको छ । सरकारले निजि मेडिकल कलेजमा कार्यरत आवासिय चिकित्सकलाई सरकारी सरह ४८ हजार ७३७ रुपेयाँ निर्वाह भत्ता दिने गरेको थियो । तर निजी मेडिकल सञ्चालकहरूले साढे दुई महिना बितिसक्दा पनि उक्त निर्णय कार्यान्वयन गरेका छैनन् ।
शुक्रबारदेखि झन् आन्दोलन सशक्त बनाउँदै आवासीय चिकित्सकले देशव्यापी रूपमा सेवा बहिष्कार गरेका छन् । निजी मेडिकल तथा डेन्टल कलेज सञ्चालकहरु स्रोत सुनिश्चित भएपछि मात्रै सरकारी सरह भत्ता दिन सकिने भन्दै आएका छन् । त्यसो त यसअघि ३ वैशाखमा बसेको १८ औँ बैठकले १० दिन भित्र निजी मेडिकल कलेजका लागि दिईदै आएको एमबीबीएस र बीडीएसको सिट संख्या तथा शुल्क संरचना पुनरावलोकन गर्न शिक्षा सचिव डा.दीपक काफ्लेको संयोजकत्वमा ११ सदस्यीय कार्यदल समेत गठन गरेको थियो ।
तर तीन पटकसम्म बैठक बस्दा पनि अधिकांश कार्यदल सदस्यले १६औं बैठकले गरेका निर्णय कार्यान्वयन नभएसम्म छलफल अगाडि नबढाउने अडान राख्दै आएका छन् । आवासीय चिकित्सकलाई निर्वाह भत्ता दिने हो भने एमबीबीएस, बीडीएसको सिट र शुल्क बढाउनुपर्ने निजी मेडिकल सञ्चाकलको माग छ । हाल निजी मेडिकल कलेजले एमबीबीएसको सय सिट पाइरहेका छन्, तर थप ५० सिट बढाउनका लागि चलखेल गरिरहेका छन् ।





