sevenstartv.com २० असार २०८३, शनिवार

२५ दिनसम्म शान्त शिक्षक आन्दोलन सरकारले सुनुवाइ नगरेपछि आक्रामक बन्दै

१५ वैशाख २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । देशभरबाट काठमाडौंको सडकमा भेला भएर २५ दिनसम्म शिक्षा ऐन माग्दै आएका शिक्षकका रचनात्मक गतिविधिलाई सरकारको नेतृत्वले नै बेवास्ता गर्दा आन्दोलन मुठभेडतिर प्रवेश गरेको छ । २५ दिनसम्म रचनात्मक दबाब दिँदै आएका शिक्षकहरू सर्वोच्चको आदेशपछि पनि सरकार गम्भीर नभएपछि आन्दोलनको २६औँ दिन आइतबार बानेश्वरमा निषेधित क्षेत्र तोड्न होमिएका थिए । 

सडकमा उठेका आवाजलाई वार्ताबाट मत्थर पार्नुको सट्टा दमन गर्ने सरकारको नियतले मानवीय र भौतिक क्षति निम्तिने गरेको छ । आइतबार शिक्षक आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दा ६२ शिक्षक घाइते भएका छन् । मुठभेडमा पाँच प्रहरी पनि घाइते भएका छन् । त्यस्तै, पानीको फोहोरा लाग्दा प्राइम टेलिभिजनकी पत्रकार सविना कार्कीको आँखामा गम्भीर चोट लागेको छ भने उनको तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ । शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले झन्डै एक महिनादेखि चल्दै आएको सभ्य, शान्त र रचनात्मक आन्दोलन दबाउन सरकार बल प्रयोगमा उत्रिएको आरोप लगाए ।

सर्वोच्च अदालतले समेत माग सम्बोधन गर्न अन्तरिम आदेश दिइसकेको अवस्थामा सरकार समाधानतिरभन्दा मुठभेड निम्त्याउन लागिपरेको उनले बताए । शिक्षकहरूले आफूहरूका माग समेटेर तत्काल शिक्षा ऐन मागिरहेका छन् । उनीहरूले उठाएका माग विगतमा सरकारले पटक–पटक सहमति गरेकै छन् । तर, अहिले ती माग समेटेर ऐन ल्याउन आनाकानी गरिएको भन्दै २० चैतदेखि उनीहरू काठमाडौं केन्द्रित आन्दोलनमा छन् । तर, यसबिचमा उनीहरूसँग सरकारले गम्भीर वार्ता भने गरेको छैन ।  

शिक्षकहरू आन्दोलनमा उत्रिएपछि विद्यालय ठप्प छन् । नयाँ शैक्षिक सत्रको भर्ना कार्यक्रम, एसइईको कापी परीक्षण, कक्षा १२ को परीक्षालगायत गतिविधि रोकिएका छन् । आन्दोलन लम्बिँदै जाँदा शैक्षिक सत्रमै असर पर्ने देखिएको छ ।  शिक्षक आन्दोलनको २६ दिनमा सरकारका गतिविधि हेर्दा संवादबाट समाधान खोज्नेभन्दा पनि विभिन्न दबाब दिएर शिक्षकलाई गलाउने रणनीति देखिन्छ । यो अवधिमा शिक्षकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ५ वैशाखमा एकपटक मात्रै भेटेका थिए । 

 

यो पनि पढ्नुहोस्