मुम्बईसँग लखनउ पराजित
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा मुम्बई इन्डियन्ससँग लखनउ सुपर जायन्ट्स पराजित भएको छ । मुम्बईको वानखेडे रंगशालामा भएको खेलमा मुम्बईले लखनउलाई ५४ रनले पराजित गरेको हो ।
टस जितेर लखनउले पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा आएको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १५ रन बनाएको थियो । मुम्बइका ओपनर रोहित शर्मा १२ रनमै आउट भए। तर, रियान रिकेल्टनले ३२ बलमै ५८ रन जोडेर बाहिरिए। उनी आउट हुँदा मुम्बईले घरेलु मैदानमा ८८ रन बनाइसकेको थियो ।
त्यसैगरी, विल ज्याक्सले २९ रन बनाउँदा २८ बलमै सूर्यकुमार यादवले ५४ रनको योगदान गरे । उनलाई अभेष खानले आउट गराउँदा मुम्बईको खातामा १ सय ८० रन पुगिसकेको थियो। त्यसपछि नमान धीरले २५ र कोब्रिन बोसले २० रनको योगदान गरे। लखनउका लागि मयंक यादव र अभेषले समान २(२ विकेट लिए ।
२ सय १५ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा आएको लखनउले राम्रो सुरुआत गर्न सकेन। उसले २० ओभरमा सबै विकेट गुमाएर १ सय ६१ रन मात्रै बनाउन सक्यो । एडन मारकरम ९ रनमा आउट भए। निकोलस पुरनले १५ बलमा ३ छक्काका साथ २७ रन जोडे पनि रिषभ पन्तले ४ रन बनाएर कर्ण शर्माको हातमा क्याच थमाएका थिए ।
खेलमा मिचेल मार्स र आयुष बडोनीले मिलेर लखनउको इनिङ बिल्ड गरे। उनीहरुले ५६ रनको साझेदारी गरेका थिए। मिचेल ३४ रन बनाएर आउट भए भने बडोनीले ३५ रन जोडे ।
त्यसैगरी, डेविड मिलरले पनि २४ रनको योगदान गर्न सके। बलिङमा जसप्रित बुमराहले ४ ओभरमा २२ रन मात्रै खर्च गरेर ४ विकेट लिए । ट्रेन्ट बोल्टले शीर्ष र मध्यक्रम गरी ३ विकेट लिएपछि मुम्बईले खेलभरि दबाब बनाएको थियो। हारसँगै लखनउको १० अंक कायम छ। मुम्बई भने १२ अंकसाथ टेबलको दोस्रो स्थानमा उक्लिएको छ।

.gif)