पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको १० अर्ब बढीको भ्रष्टाचारमा मुछिएकाहरूलाई कारबाही गर्ने हिम्मत छ : सांसद् पराजुली
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् गणेश पराजुलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको १० अर्ब बढीको भ्रष्टाचारमा मुछिएकाहरूलाई कारबाही गर्ने हिम्मत छ भन्दै सरकारलाई प्रश्न गरेका छन् ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले प्रधानमन्त्रीलाई यस्तो चुनौती दिएका हुन् । उनले उच्च स्तरीय सशक्त न्यायिक समिति बनाएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारमा मुछिएकाहरू कारबाही गर्न सरकारलाई आग्रह गरे ।
उनले २२ अर्ब ऋण सम्झौता लागतमा निर्माण भएको विमानस्थलमा १० अर्ब बढी भ्रष्टाचार भएको विषय संसद्को लेखा समितिले उजागर गरेको गरेको बताउँदै यसले अन्तर्राष्ट्रिय जगतमै नेपालको छवि धमिलिएको बताए ।
उनले विमानस्थलमा आवश्यक लम्बाइको धावन मार्ग बन्न नसक्दा धावन मार्ग भन्दा लामो भ्रष्टाचारको लिस्ट बनेको भन्दै अन्तर्राष्ट्रिय जगतले सिरिजमा यो विषय बारम्बार उजागर गरिरहेको जिकिर गरे ।





