प्रदर्शनलाई निरन्तरता दिन शिक्षकलाई महासंघको अनुरोध

काठमाडौं । शिक्षक महासंघले दुई सातादेखि काठमाडौंमा गर्दै आएको प्रदर्शनलाई शुक्रबार पनि निरन्तरता दिने भएको छ । महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले दिउँसो १२ बजे माइतीघरमा भेला भएर शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन अनुरोध गरेका छन् ।
बिहीबारको सहभागिता उत्साहजनक रहेको भन्दै उनले यसले आन्दोलनका लागि थप ऊर्जा मिलेको बताएका छन् । उनले शिक्षक आन्दोलनलाई उग्रता र भड्काउबाट बचाउनुपर्नेमा जोड दिएका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘हामी विजयोन्मुख छौं। यो घडीमा हामीले झन् अनुशाासित, मर्यादित र संयमित हुनु जरुरी छ। आन्दोलन उग्रतामा परिणत भयो भने त्यसले सबभन्दा पहिले आन्दोलनलाई नै खान्छ।’ उनले सबैलाई आन्दोलनमा जुट्न आह्वानसमेत गरेका छन्। ‘हामी चार लाख शिक्षक(कर्मचारी र हामीले उठाउने आन्दोलन मात्र हाम्रो हो। यो सत्यलाई मनन गरौं। त्यसैले अनुशासित, संयमित र मर्यादित भएर आन्दोलनमा जुटौं’, उनले थप लेखेका छन्। शिक्षक आन्दोलनले काठमाडौंको माइतीघर बानेश्वर सडकखण्ड दिनभर अस्तव्यस्त हुँदै आएको छ । उनले केही दिन धैर्यता गरेमो उपलब्धि प्राप्त हुने विश्वास व्यक्त गरेका छन् । ‘अरु केही दिन धैर्य र मर्यादित भएर लागौं। हाम्रो विजय सुनिश्चित छ’, उनले भनेका छन् ।