sevenstartv.com १७ असार २०८३, बुधवार

तीनकुने घटनामा न्यायिक छानबिन समिति गठन माग

सरकारको भनाइप्रति गम्भीर आशंका उत्पन्न भएको जिकिर

२४ चैत २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । जवाफदेहिता निगरानी समितिले तीनकुने घटनामा न्यायिक छानबिन समिति गठन गर्न माग गरेको छ । समितिले भविष्यमा  हिंसात्मक घटना पुनः नदोहोरिने निश्चित गर्न आह्वान गरेको छ । 

यही चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाबारे प्रहरीले सार्वजनिक गरेको विवरण र गोप्य प्रतिवेदनको हवाला दिँदै मिडियाबाट सार्वजनिक अत्यधिक बल प्रयोगबारेको समाचारले गम्भीर एवं चिन्तित बनाएको समितिले जनाएको छ । घटनाको वास्तविकता सार्वजनिक गर्न समितिले माग गरेको छ ।

घटनाबारे उजागर हुँदै गएका तथ्य हेर्दा प्रहरीबाट गरिएको बल प्रयोग आवश्यक र समानुपातिक थियो भनेर विश्वास गर्न र गृह प्रशासनलाई शंकाको सुविधा दिन सकिने अवस्था नदेखिने समितिको विज्ञप्तिमा उल्लेख छ ।

समितिले घटनामा गरिएको बल प्रयोग, त्यसको दुष्परिणाम, पत्रकार सुरेश रजकको रहस्यमय मृत्यु र प्रदर्शनकारीबाट गरिएको हिंसात्मक कार्यको निष्पक्ष तथा स्वतन्त्र न्यायिक छानबिन अत्यावश्यक देखिएको जनाएको छ । समितिले नागरिकको सुरक्षाको आशा र भरोसाको केन्द्रमा रहेको प्रहरी संगठन र गृह प्रशासनको विश्वसनीयता क्षयीकरण रोक्न पनि स्वतन्त्र छानबिन आवश्यक रहेकामा जोड दिएको छ । 

चैत १५ गते तीनकुनेमा राजावादीले आयोजना गरेको प्रदर्शन हिंसामा परिणत भएको थियो । त्यसक्रममा दुईजनाको मृत्यु भयो । घटना रोक्न प्रहरीले गोली, अश्रुग्यास प्रहार गरेको थियो ।